काठमाडौं : आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कथित पुरुस्कारको ब्यवस्था खारेजको माग गरेको छ । सो व्यवस्था खारेज गर्नुपर्ने माग गर्दै आजपाले आज भन्सार बिभागमा ज्ञापन पत्र बुझाएकोछ । ज्ञापनपत्र बुझाउँदै आजपाले आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ ।

भन्सार बिभागलाई घेराउ गर्दै आजपाका नेताहरुले भन्सार कार्यालय घेराउ देखि भन्सार बिभागमा धर्ना बसने जस्ता संघर्षका विभिन्न कार्यक्रमहरु घोषणा गरेका छन । काठमाडौंको थापाथलीबाट निस्केको विरोध जुलुसले कथित पुरुस्कारको नाममा राजस्व लुटने कार्य बन्द गर, भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत कमिसन खारिज गर, भ्रष्टाचारीलाई कारवाई गर, जस्ता नाराहरु लगाएका थिए ।

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८ र ४९ मा गरिएको व्यवस्था अनुसार कुनै चोरी÷निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराकी दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । यसरी संसदलाई छलेर नियमावली मार्फÞत देशको राजस्वलाई व्यक्तिको खातामा पुर्याउँनुलाई जघन्य अपराध रहेको ठहर आजपाको छ । यसलाई तुरुन्त संशोधनको जोड़दार माग गर्दै आजपा संघर्षका कार्यक्रम सडकमा उत्रेको छ ।

देशको आर्थिक अवस्था संकटतर्फ गईरहेको अवस्थामा यस्ता व्यक्ति मोटाउँने र राज्यलाई कमजोर बनाउँने नियमावली तुरुन्त संशोधन गर्नुपर्ने आजपाका प्रवक्ता चन्द्रभुषण साहले बताए । देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको अवस्थामा बजारमा पैसाको हाहाकार रहेको बेला लक्ष्य अनुरुप राजस्व उठाउँन नसकेको तर मनोमानी रुपमा व्यक्तिलाई पैसा बाडेर राज्यलाई नै कमजोर बनाउँन खोजिएको प्रवक्ता साहले बताए ।

‘देशको यस जर्जर विषम अवस्थामा हाम्रो राजस्व संकलन व्यवस्थित र प्रभावकारी हुनुपर्ने हो । तर विडम्बना राजस्व संकलन भद्रगोल र लुटकारी छ । गलत सोच र भ्रष्ट नीतिका कारण सरकारी कोषमा जम्मा भएको राजस्वको रकम पनि व्यक्ती वा व्यक्तीको खातामा गईरहेका छन्’ आजपा प्रवक्ता साहले भने, ‘सरकारी राजस्वलाई लुटन गलत कानूनी प्रावधान निर्माण गरिएको छ । यसलाई तुरुन्त खारेज नगरिए कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’

देशको संसदलाई छलेर कथित नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व संकलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीहरुको निजि खातामा गईरहेको निष्कर्ष आजपाको छ । नेपालको संविधान र प्रचलित कानुन अनुरुप कसैले कसैलाई पक्रउ गर्ने वा कसैको माल समान खोस्ने अधिकार केवल सम्बन्धित कर्मचारी वा सुरक्षा निकायसंग मात्र छ ।

‘उपरोक्त नियमावलीमा राखिएको कथित पुरस्कारको व्यवस्था सरकारी कर्मचारीको लागी मात्र रहेको व्यवहोरा स्पष्ट छ । सरकारी तलव भत्ता खाने कर्मचारी र सुरक्षाकर्मीहरुले चोरी निकासी पैठारीको माल समान पक्राउ गर्नु उनीहरुको कर्तव्य हो । तर आज चोरी निकासी पैठारी नियन्त्रण गरे वापत यति ठूलो रकम ४५ प्रतिशत सरकारी कर्मचारीले हत्याउनु भ्रष्टाचारजन्य अपराधिक कार्य हो । यसले भन्सारको वैधानिक रूटलाई समेत कमजोर गरी राजस्व संकलनलाई प्रभावहिन तुल्याउने गरेकोछ’ आजपाले भनेको छ ।

देशको राजस्व संकलनलाई प्रभावकारी बनाउन र गुणात्मक राजस्व बृद्धि गर्न सर्वप्रथम भन्सार नियमावलीबाट कथित पुरस्कारको व्यवस्था हटाउन आवश्यक रहेको सुझाव आजपाको छ ।

भन्सार बिभाग, त्रिपुरेश्वरका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएको आजपाले ३ असोजमा पत्रकार सम्मेलन गर्ने, असोज ७ गते देखी १७ गते सम्म तराई–मधेसका प्रत्येक सदरमुकाममा यस बिषयमा अन्तरक्रिया कार्यक्रम गर्ने, असोज १८ गते, नियमावली जलाउने, असोज १९ गते मधेशको भन्सार कार्यालयहरु घेराउ गर्ने, र असोज २० गते देखि, भन्सार विभागमा धर्ना दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय