धनकुटा : नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ धनकुटाको वडा अधिवेशन पौष २१ गतेदेखि शुरु गर्ने निर्णय गरेको छ । आज बसेको महासंघको बैठकले केन्द्रको निर्देशन बमोजिम पौष २१ गते धनकुटा जिल्लाको ६० वटै वडामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।
वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्नको लागि नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका कोषाध्यक्ष हिरा देवि आठपहरीयाको संयोजकत्वमा ७ सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति समेत आजको बैठकले निर्माण गरेको महासंघका जिल्ला सभापति नरेन्द्र राईले बताउनु भयो ।
वडा अधिवेशन सम्पन्न गर्नको लागि साधारण सदस्यता रसिद, विधान र महासंघको मुखपत्र आदिवासी आवाज समेत पालिका संयोजकहरु चौविसेका कुमार लिङथेप याक्खा, साँगुरीगढीका रिवज राई, पाख्रिवासका चकेन्द्र राई, सहिदभुमिका पदम राई, महालक्ष्मीका प्रदिप तुम्बा, छथरजोरपाटीका गजहाङ्ग लिम्बू र धनकुटा नगरपालिकाका भोगेन्द्र राईलाई हस्तान्तरण गरिएको महासंघ सचिव गजम घिसिङ्गले जानकारी दिनुभयो ।
कोशी प्रदेश नामाङ्कनको विषयमा हाल उठिरहेको जनसंघर्षलाई सहमति, सहकार्य र शान्तिपुर्वक ढंगबाट बहस छलफलको वातावरण तयार गरि निकास तर्फ अघि बढ्न सरोकारवालाहरुलाई आव्हान समेत बैठकले गरेको छ ।साथै धनकुटा जिल्लामा पक्राउ परेका आदिवासी जनजाति अभियान्तहरुलाई बिना शर्त रिहा गर्न समेत सरकारसँग माग गरेको छ ।
महासंघको केन्द्रले निर्देशन बमोजिम वडा अधिवेशन पौष २१ गते,पालिका अधिवेशन माघ ६ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन माघ २१ गते, जिल्ला अधिवेशन फागुन १९ गते सम्पन्न गर्ने आजको बैठकमा निर्णय गरिएको छ । पार्टीका सबै वडा सभापति, पालिका सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, पदाधिकारी लगायत सदस्यहरुले आवश्यक सहयोग र सहजिकरण गरि महासंघको अधिवेशन सम्पन्न गर्न अपिले समेत बैठकले गरेको छ ।
बैठकमा महासंघका केन्द्रीय सदस्य रमेश इवाहाङ्ग, नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल तरुण दलका केन्द्रीय सदस्य तिलक बहादुर महत लगायतकाको उपस्थिति रहेको थियो ।