![](https://missionnepalkhabar.com/wp-content/uploads/2024/05/IMG-20240501-WA0007.jpg)
विराटनगर : कोशी प्रदेश सरकार कुनै पनि हालतमा परिवर्तन नहुने मुख्यमन्त्री केदार कार्कीले दाबी गरेका छन् । संविधानले स्थायी सरकारको परिकल्पना गरेको र अन्तिम धारा अनुसार आफू मुख्यमन्त्री बनेकाले अब सरकार परिवर्तन नहुने मूख्यमन्त्री कार्कीको दाबी छ ।
देशमा स्थायी सरकार भएनन् राजनैतिक दल र संसदीय व्यवस्थाप्रति जनताको वितृष्णा बढेकाले नै नयाँ संविधानमा स्थायी सरकारको परिकल्पना गरेको दाबी गर्दै मुख्यमन्त्री कार्कीले धारा ६७ (५) अनुसार आफू मूख्यमन्त्री बनेकाले आफू नेतृत्वको सरकार परिवर्तन नहुने दाबी गरे ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको तेस्रो अधिवेशन तथा मिडिया सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधिमा जान रोक्नका लागि नै आफूले दलीय निर्देशन तोडेर मुख्यमन्त्रीको बागडोर सम्हालेको बताए ।
मुख्यमन्त्री कार्कीले माओवादीतर्फ इंगित गर्दै रगतले लेखिएको संविधानको आफैले उल्लंघन गरेर आम सहिदको अपमान नगर्न आग्रह गरे । उनले भने ‘हामी सबैसँगै आन्दोलनमा थियौं, कोही सडकमा थिए त कोही जंगलमा । यो संविधान रातो रगतले लेखिएको छ । रगत सेलाएपछि कालो हुन्छ । अहिले संविधान त्यही कालो अक्षर लेखिएको हो । तर, केही साथीहरुले सहिदको बलिदानीको व्यापार गर्दैछन् ।’
कोशीको सरकारलाई स्थायित्व दिन र मध्यावधि रोक्न आफूले पार्टीको निर्देशन तोडेर नेतृत्व लिएको र संविधानमा दुई बर्षसम्म विश्वासको मत लिन नपर्ने स्पष्ट व्यवस्था गरेपनि केही दल र तिनका आसेपासेहरु कानूनको छिद्रा खोजेर आफूलाई परास्त गर्न खोजिरहेपनि त्यो सफल नहुने मुख्यमन्त्री कार्कीको दाबी थियो ।
उनले आफूविरुद्ध संकल्प प्रस्ताव दर्ता भएको विषयमा घुमाउरो हिसावमा ३० दिनभित्र विश्वासको मतको सट्टा मध्यावधि घोषणा गर्ने समेत संकेत गरे । राजनैतिक स्थायित्व र लोकतन्त्रलाई बलियो बनाउँदै संविधानको पूर्ण कार्यान्वयनका लागि आफ्नो सरकार टिकाउनुको विकल्प नभएको दलिल पेश गरे ।