काठमाडौं : आम जनता पार्टी (आजपा) निकटको भन्सार कानून सुधार संघर्ष समिति र आम सम्पर्क मञ्चले बिहिबार काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ । भन्सार कानूनमा रहेको लुटकारी व्यवस्थाको विरुद्धमा आजपाले चौथो चरण अन्तरगतको कार्यक्रम अनुसार भन्सार विभाग घेराउ तथा धर्ना दिएको हो ।

भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्नुपर्ने आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जु साहले बताईन् । भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान हटाउन झण्डै ६ महिना देखि आजपाले निरन्तर संघर्ष गर्दै आएको छ । गत साता आजपाले भन्सार विभागका महानिर्देशकलाई सचेतनापत्र समेत बुझाएको थियो ।

‘यसरी हामीले देशको राजस्वसंग सम्बन्धित तथा सिमा क्षेत्रको जनताको भाग्य भविष्यसंग जोडिएको समस्याको समाधानका लागि विगत ८ महिनादेखी लगातार आन्दोलन मार्फत विषय उठाई राख्दा सरकार के गरिरहेको छ ? हामी जान्न आतुर छौं’ संघर्ष समितिका संयोजक साहले भनिन्, ‘अहिलेको २१ औं शताब्दीको कानूनी शासनको लोकतान्त्रिक युगमा जनताको सरोकार एवं देशको समृद्धिसंग जोडिएको यस्तो बिषयमा सरकार मौन बस्नु दुःखद हो । अहिले देशमा बदलिएको सत्ता समिकरण सहितको परिस्थितिमा सरकारले हाम्रो माग सम्बोधन गर्नेमा हामी आसावादी छौं ।’

साहले अगाडी भनिन, ‘हामीले उठाएका माग र हाम्रा विरोधका कार्यक्रमहरु बारे त्यहाँ विभाग र मन्त्रालयबाट हालसम्म के कति प्रगति भएको छ ? स्पष्ट गर्न अनुरोध गर्दै हाम्रा मागहरु तुरुन्त सम्बोधन गर्न विभाग मार्फत सरकारसंग जोडदार माग गर्दछौं । यदी हाम्रा मागहरु तुरुन्तै सम्बोधन नभए अनिश्चितकालिन भन्सार विभाग घेराउ र धर्ना लगायतका संघर्षका कार्यक्रम अगाडी बढाउँन बाध्य हुनेछौं ।’

भन्सार विभाग मार्फत सरकारलाई सचेतना पत्र बुझाएको मञ्चले आफूहरुको माग पुरा नभए आउँदो २० बैशाख देखी अनिश्चितकालिन भन्सार विभाग घेराउ तथा धर्ना लगायत संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको थियो । चरणबद्ध आन्दोलन गर्दै आएको आजपाको माग सम्बोधन नभए संघर्षका कार्यक्रम निरन्तर अगाडी बढाउँन बाध्य भएको आजपाका वरिष्ठ उपाध्यक्ष एवं संबिधान सभा सदस्य तिलक थापामगरले जनाएका छन् ।

भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लूटकारी प्रावधान हटाउन र भन्सारको नाममा निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न लगायतका मागहरु आन्दोलनकारीको रहेको छ ।

गत भदौ ३१ गते ज्ञापन–पत्र मार्फत सुरू गरि माघ २० गतेको मोटरसाइकल र्यालीबाट रोकिएको यो चरणबद्ध आन्दोलन अब पुनः सुचारु गर्दै संघर्षका कार्यक्रमलाई कडा बनाउँदै अगाडी बढने आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

बिभिन्न चरणमा आन्दोलन गर्दा समेत सरकारले आफूहरुको माग सम्बोधनमा ढिलाई गरेकाले चौथो चरण अन्तरग आन्दोलनका कार्यक्रम अगाडी बढाउन बाध्य भएको उनले जनाएका छन् । सापकोटाले देशको समृद्धिसंग जोडि़एको यस ऐतिहासिक संघर्षमा सबै एकजुट भएर संघर्षमा उत्रिनुपर्ने बताए ।

आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा यस अघि महिनौसम्म धर्ना तथा घेराउ गर्दै आएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय