
– ओम प्रकाश यादब, रानी साह
राैतहट : यस वर्षको मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० राष्ट्रिय समाचार समिति राससका अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले स्थापना गरेको ‘मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार’ २०८० बाट राससका अध्यक्ष झा पुरस्कृत भएका छन् ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले शनिवार गरुडा स्थित एन प्लाजा होटलमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार राससका अध्यक्ष झालाई प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले २५ हजार रुपैया नगद र सम्मानपत्र सहित मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार २०८० राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरेका हुन् ।
गत वर्ष उक्त पुरस्कार गोरखापत्रका नायव कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई प्रदान गरिएको थियो । पत्रकारिता क्षेत्रको विकासका लागि झाले विशेष योगदान पुरयाएकोले उनको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन् ।
विश्वमै ठुलो महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट २०७८ सालमा जिल्लाको सक्रिय पत्रकारको रुपमा रहेका मनोज कुमार चौधरीको निधन भएको थियो ।
कोरोना महामारीबाट पत्रकार चौधरीको दुखद् निधन भएपछि नेपाल पत्रकार महासंघ रौतहट शाखाले उनको नाममा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको थियो ।
यसैविच मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सरकारी जागिर खाने कतिपय व्यक्ति समेत महासंघको सदस्यता लिएकोले सरकारी सेवा सुविधा प्राप्त गर्ने व्यक्तिलाई महासंघको सदस्यता त्यागनुपर्ने बताएका छन् ।
कतिपय सक्रिय पत्रकार महासंघको सदस्यता लिनबाट बञ्चित रहेको र सरकारको तलव खाने व्यक्ति महासंघको सदस्य रहेकोले सरकारी सेवा सुविधा पाउने व्यक्तिलाई महासंघ सदस्यबाट राजिनामा दिन उनले आग्रह गरेका छन् ।
पछिलो समय पत्रकारिता क्षेत्रमा विकृति विसंगति बढेको बताउँदै महासंघका अध्यक्ष पोखरेलले पत्रकारलाई आफ्ना कलम र स्वतन्त्र पत्रकारिताको माध्यमले आम जनताको मन तथा विश्वास जित्ने गरी पत्रकारिता गर्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतिहरु रहेको भएपनि पत्रकारहरुले पाउने पारिश्रमिक नै प्रमुख चुनौतिको रुपमा देखा परेको बताएका छन् ।
पत्रकारहरुले सञ्चार माध्यमबाट तोकिएको पारिश्रमिक नपाउने तथा पाए पनि ढिलो गरी पाउने भएकाले पत्रकारहरु समस्यामा पर्ने गरेको उहाँले बताउनु भयाे । महिला पत्रकारमाथि झनै पारिश्रमिक तथा जिम्मेवारीमा नै भेदभावपूर्ण व्यवहार हुने गरेको भन्दै उहाँले महिला पत्रकारहरु पत्रकारितामा टिकिरहन समस्या रहेको बताउनु भयाे ।
पत्रकारहरुले तोकिएको न्यूनतम पारिश्रमिक नपाउने समस्या ठुलो समस्याको रुपमा रहेको चर्चा गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष खड्काले यस्ता खालका समस्या समाधान गर्ने तर्फ आफुहरु गम्भीर भएर लागेको बताइन् ।
नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्य तथा पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्का, मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष राकेश कर्ण, पत्रकार महासंघका पूर्व सचिव शितल महतो, महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जारा, महासंघका केन्द्रीय सदस्य शिवपुरी, केसी लामिछाने लगाएतले आ–आफना मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष धर्मेन्द्र साहले सञ्चालन गरेको कार्यक्रममा पत्रकारिता क्षेत्रका विभिन्न अति विशिष्ट व्यक्तिहरुको उपस्थित रहनुका साथै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र नगर उपप्रमुख तथा स्वर्गीय पत्रकार मनोज कुमार चौधरीको श्रीमती पुनम देवी चौधरी लगाएतको सहभागिता रहेको थियो ।