काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले सरकार भगौडा दलाल बर्गको पक्षमा रहेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बिहिबारको बैठकमा बोल्दै सांसद साहले नेपालको नागरिकत्ता त्यागेर विदेशमा गएकाको कति सम्पती राज्यकोषमा आएको भन्दै उनले सरकारसंग प्रश्न गरे ।
‘सभामुख महोदय नेपालमा दुई किसिमको नागरिक छन् । एउटा विदेशमा दरदरका ठक्कर खाने, दुख गर्ने, खुन पसिना बेच्ने र पैसा ल्याएर देश बनाउँने । अर्को किसिमको मान्छे छ, जसले देशलाई लुटने, मौज गर्ने र देशको पैसा लगेर विदेशमा थुपार्ने । म जान्न चाहन्छु सरकार कुन नागरिकको पक्षमा छ ? सरकारको धारणा के छ ? राज्यको झुकाव कतापटी छ ?’ साहले प्रश्न गरे ।
नेपाली पैसा लुटेर विदेश थुपार्नेलाई सरकारले सम्मान गर्ने तर विदेशमा दुख गरेर काम गरी पैसा ल्याएर नेपाल बनाउँने काम गर्ने ति मजदुरको पक्षमा सरकार नहुनु र ति श्रमजिविले सम्मान नपाउँनु दुखद भएको उनले बताए ।
नेपालको कानून अनुसार नेपाली नागरिकत्ता परित्याग गरी विदेशी नागरिक हुने, विदेशको नागरिकता लिनेको श्रीसम्पती राज्यको हुने भएकाले त्यस्तो कति सम्पती राज्यकोषमा आएको भन्दै साहले सरकारलाई प्रष्ट पार्न माग गरेका छन् ।
साहले १० लाख भन्दा बढी नागरिकहरु नेपालमा भविष्य छैन भन्दै विदेशी नागरिक भएको बताउँदै उनीहरुकै पक्षमा कानून निर्माण गरी सरकारले नेपालमा भएको उनीहरुको सम्पती विदेशमा पुर्याउँने र यहाँको पुँजी विदेशमा सहज पुर्याउँने काम गरिरहेकाले मुलुक कसरी समृद्ध हुने भन्दै सरकारको आलोचना गरेका छन् ।
नेपाललाई समृद्ध बनाउँने हो भने विदेशमा श्रम गर्ने र मुलुकमा पैसा भित्रयाएर मुलुक बनाउँने काम गर्नेको सम्मान गर्नुपर्ने र ति भगौडा दलालहरुको पक्षमा लाग्न नहुने भन्दै उनले सरकारले आफ्नो नीति स्पष्ट गरी अगाडी बढे मात्रै मुलुक समृद्ध हुन सक्ने उनले बताए ।