रौतहट : आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीले विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपूर्ति गराउनका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

रौतहटको चन्द्रपुरमा बसेको आजपा मधेस प्रदेश कमिटीको पदाधिकारी बैठकले असामान शिक्षक दरबन्दी वितरण सच्याउन, अपुग तहगत र बिषयगत शिक्षक दरबन्दी पुर्ति गर्न र विद्यार्थी संख्याको अनुपातमा अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

४० देखी ५० बिधार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखी १०० बिधार्थी बराबर एक शिक्षक रहेको र हजारौं बिधालयमा शिक्षक दरबन्दी शुन्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष सहित बैठकले मधेसको प्रत्येक जिल्लामा संघर्ष अगाड़ी बढ़ाउने निर्णय गरेकोछ ।

बैठकले शिक्षा विभागको मापदण्ड भन्दा बढी शिक्षक दरबन्दी रहेको विद्यालयबाट तत्काल दरबन्दी कटौती गर्न र शिक्षक दरबन्दी अपुग रहेको विद्यालयमा तत्काल आपुर्ति गर्न माग गरेको छ । यस्तै प्रत्येक विद्यालयमा तहगत र बिषयगत शिक्षक आपुर्ति गर्नुपर्ने, शिक्षा विभागको मापदण्ड अनुसार प्रत्येक तहको विद्यालयमा तह अनुसारको न्यूनतम शिक्षक दरबन्दी आपुर्ति गर्नुपर्ने माग आजपाको छ ।

मधेसका अधिकांश विद्यालयमा १०० देखी ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पुर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक बर्ष बृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक बर्ष विद्यार्थी भर्ना अभियानसंगै अपुग हुने शिक्षक दरबन्दी बैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पुर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।

आजपाले उठाएको शिक्षा सम्बन्धी यि मागहरु पुरा गराउँनका मधेसका प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँने, बैशाख १७ गते अपुग दरबन्दी रहेको विद्यालयमा विद्यार्थी र अभिभावक बीच अन्तरक्रिया कार्यक्रम गर्ने, बैशाख १८ गतेदेखी २१ गते सम्म प्रत्येक जिल्लामा अपुग दरबन्दी पुर्ति गराउन संघर्ष समितिहरु गठन गर्ने, बैशाख २२ गते जिल्ला शिक्षा समन्वय इकाई समितिमा तालाबन्दी गर्ने र बैशाख २५ गते शिक्षा विभाग घेराउ गर्ने आन्दोलनका कार्यक्रम आजपाले सार्वजनिक गरेको छ ।

आजपा मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहाको अध्यक्षता एवं पार्टीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह लगायतका नेताहरुको उपस्थितिमा बसेको उक्त बैठकले संगठन बिस्तार लगायतका महत्वपुर्ण निर्णयहरु समेत गरेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय