विराटनगर : नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
मङ्गलवार बिहान माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवो सहित बसेको बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह इन्चार्ज सावित्री कुमार काफ्लेले बताए । काफ्लेकै घरमा बैठक बसेको थियो ।
बैठकले आफ्ना मन्त्रीहरूलाई राजीनामा बुझाउन समेत निर्देशन दिएको बैठकमा सहभागी नेताहरूले बताएका छन् । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको छ ।
गत पौष २४ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रबाट २ जना मन्त्री छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा दुर्गाप्रसाद चापागाईं र वन, पर्यटन तथा वातावरण मन्त्रालयमा जीवन आचार्य मन्त्री छन् । दुवै मन्त्रीले आजै राजिनामा बुझाउने तयारी गरेको बताईएको छ ।
माओवादी केन्द्र सरकारबाट फिर्ता भएसँगै कार्की नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । प्रदेशसभामा बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा माओवादी फिर्ता भएपछि एमालेका ४० र राप्रपाका ६ गरी सरकारको समर्थनमा ४६ सांसद मात्र रहने छन् ।