काठमाडौं : आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले राजदुत नियुक्तिका लागि आफ्ना नातागोता, आफन्त, पार्टी कार्यकर्ताको नाम सिफारिस गरेकोमा त्यसलाई तत्काल सच्याउँन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले राजदूत नियुक्तीमा सिफारिश नै गलत भएको भन्दै तत्काल सच्याउनुपर्ने माग गरेका छन् । उनले नेताहरुले आफ्ना आफन्त र नातागोता, कार्यकर्तालाई व्यवस्थापन गर्नको लागि राजदूत नियुक्त गरेको भन्दै आलोचना गरे । शीर्ष नेताहरुले आफ्नो साली, काका, सासुलाई जागिर खुवाउनको लागि राजदूत नियुक्त गर्ने गरेको भन्दै यसले देशको कुटनीतिक छवि नै धुमिलिएको साहले बताए ।

चीन, अमेरिका, बेलायतलगायत विभिन्न १९ देशमा राजदूतमा सिफारिश नाम हेर्दा संविधानअनुसार नभएको भन्दै उनले आलोचना गरे । उनले १९ जना राजदूतहरुको नाम सिफारिश हुँदा एकजनापनि मधेशी, दलित, मुस्लिम नपरेको र समावेशीअनुसार महिलाको पनि ३३ प्रतिशत सुनिश्चित् हुन नसकेको भन्दै सरकारको आलोचना समेत गरे ।

सरकारले आफ्नो नागरिकको सुरक्षाको प्रत्याभूति गराउन र त्यो देशसँगको सम्बन्ध सुमधुर बनाउनको लागि राजदूतहरु नियुक्त गर्दै आएकोमा पछिल्लो समय जसरी राजदूतहरु नियुक्त हुने काम भैरहेको छ त्यसले देशको इमेज नै ध्वस्त बनाएको साहले बताए ।

‘अहिले जसरी राजदूतहरु नियुक्तीको लागि नाम सिफारिश भएका छन्, त्यसले कुटनीतिक मर्यादासमेत उल्लंघन गरेको छ । कुटनीतिबारे केही पनि नजानेका मान्छेहरु राजदूत नियुक्तीको लागि सिफारिशमा परेका छन् । राजदूत बन्नको लागि योग्यता र क्षमता चाहिन्छ कि चाहिँदैन् ? यहाँ त योग्यता र क्षमताविहीन नेताजीहरुकै वरिपरिका र उनीहरुका नातागोता अनि चिनजानका मान्छेहरुलाई राजदूत बनाईएको छ, त्यसरी बनाउने हो भने त हाम्रा कुटनीतिक नियोगहरु डम्पिङ साईट बन्छन्, हाम्रा नियोग डम्पिङ साईट हो त ?’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘सरकारले यसरी कुटनीतिको बारेमा जानकारी नै नभएकाहरुलाई राजदूतमा रिवार्ड गर्ने अनि आफ्नो एप्रोच बढाउने काम गरेको छ । यसै गर्न थालियो भने देशको हालत के होला ? नागरिकको सुरक्षाको अवस्था के होला भन्ने प्रश्न आउँछ । अहिले राजदूतमा सिफारिश भएकाहरुको नाम र अनुहार हेर्यो भनेपनि नेताजीहरुको नातागोता, नजिकका मान्छे र पहुँच भएकाहरुले त्यहाँ नियुक्ती पाईरहेका छन् । सरकारले बनाएको छ, राजदूत नियुक्तीको मापदण्ड, अनि किन त्यो लागु हुँदैन् ?’

सो क्रममा उनले सरकारले कहिले राजदूत पठाउने अनि कहिले फिर्ता गर्ने काम गरेकोमा पनि आलोचना गरे । उनले बिनाकारण राजदूत फिर्ता बोलाईने गरिएकोमा यसले देशको लागि राम्रो नहुने टिप्पणी गरे । ‘राजदूत फिर्ता बोलाउने काम बच्चाको खेलजस्तो होईन, सरकारले यस्तो काम गर्न मिल्छ ? काम गरिरहेका राजदूतहरुलाई के कारणले फिर्ता बोलाएको हो ? त्यो जान्न पाउनुपर्छ । काम गरेको मान्छेलाई फिर्ता बोलाउँदा कुटनीतिक रुपमा देशलाई कस्तो असर पर्छ ? त्यो मान्छे स्वयमको मनोविज्ञानमा कस्तो असर गर्छ ? त्यो ख्याल गरिएन । भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाईयो, त्यतिवेला यो संसद्मा कुरा उठ्यो के कारणले फिर्ता बोलाईयो भनेर ? फेरि अर्को १५ दिन थमौताी भयो । लगत्तै उनलाई नै निरन्तरता दिईयो, के कारणले यस्तो भयो ? त्यसको कुनै लजिक छैन्’ साहले भने, ‘कुटनीतिक नियोगको नियुक्ती भनेको खेलाँची गर्ने ठाउँ होईन । हाम्रा राजदूतहरुको नियुक्ती हेर्दा हामी कच्चा कुटनीतिक अभ्यास गर्दैछौं । स्वार्थको नियुक्तीले हाम्रो कुटनीतिक ईमेज ध्वस्त गर्दैछौं । आज हामी हेर्दैछौं १९ जना राजदूत नियुक्तीको लागि सिफारिशमा एकजना पनि मधेशी छैन, एकजना पनि दलित छैन्, एकजना पनि मुश्लिम छैन् । एकजना पनि थारु छैन् । यो क्लष्टर तपाईंहरुले निर्माण गरेको होईन ? जनजाति पनि थोरै अनि महिलापनि ३३ प्रतिशत हुनुपर्ने होईन ? राजदूत नियुक्ती किन समावेशी छैन ? भनेर प्रश्न गर्न चाहन्छु ।’

राजदूत नियुक्तीको विषयमा उनले सरकारले संविधानलाई नमानेको आरोप लगाए । उनले भने, ‘संविधान बनाउने बेलामा ५१ प्रतिशत महिलाहरुलाई जम्मा ३३ प्रतिशत बनाउनुभयो, अनि दिने बेलामा यस्तो विभेद ? के महिलाहरु योग्य छैनन् ? अनि भएकापनि योग्य देखिए त ? व्यक्तिको वरिपरि घुम्नेहरु योग्य हुन्छ त ? राजदूत हुनको लागि कसैको ज्वाँई हुनुपर्ने ? कसैको काका हुनुपर्ने ? अनि कसैको सासु हुनुपर्ने ? कसैको निजी डक्टर हुनुपर्ने ? कसैको भाई बुहारी हुनुपर्ने ? यसरी नियुक्ती गरेर देशलाई बदनाम गर्न मिल्छ ? कुटनीतिक क्षेत्रलाई अस्तव्यस्त गर्न मिल्छ ? जसरी नियुक्ती प्रक्रिया भैरहेको छ, समावेशी पनि नहुने ? समावेशी गर्दा योग्यको कुरा आउँछ, जो गर्नुभएको छ त्यो पनि योग्य देखिएन नि ।’

साहले राजदूत नियुक्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग जवाफ माग गरे । अहिलेको राजदूत नियुक्तीको सिफारिश समेत फिर्ता लिनुपर्ने माग उनले गरे ।

सम्बोधनको क्रममा उनले बंगलादेशको पछिल्लो अवस्थाबारे चित्रण गर्दै त्यहाँ रहेका नेपालीहरुको सुरक्षा अवस्था के कस्तो छ भनेर सरकारसँग जवाफ पनि साहले मागेका छन् ।
‘बंगलादेशको सुरक्षा स्थिति दयनीय छ । ठाउँ ठाउँको झडपले त्यहाँको अवस्था भयावय छ । सुरक्षा थ्रेटको कारणले त्यहाँको प्रधानमन्त्रीले राजीनामा दिईन् । र, देश छोड्नुपर्ने स्थिति निर्माण भयो । आन्दोलनकारीहरुले प्रधानमन्त्रीको निवासलगायत सम्पूर्ण सरकारी कार्यालयहरु कब्जामा लिएका छन् । झण्डै तीन सयजति मान्छेहरुको हाताहाती भएको समाचार छन् । यो भयावह अवस्थामा यतिवेला नेपालीहरु जो बंगलादेशमा छन्, उनीहरुको अवस्था के छ ? कति विद्यार्थीहरु बंगलादेशमा छन्, कति नेपाल फर्किए ? त्यहाँ भएका नेपालीहरुको अवस्था कस्तो छ ? यो विषयमा सम्माननीय सभामुखज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ होस भनेर म आग्रह गर्न चाहन्छु’ आजपा अध्यक्ष साहले भने ।

बंगलादेशमा रहेका विद्यार्थीहरु र नागरिकको सुरक्षा अवस्था कस्तो छ ? भन्ने विषयमा सरकारसँग उनले जानकारी माग गर्दै उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउँनुपर्ने माग गरे ।

‘हामीले इजरायलमा बेपत्ता भएका विपीन जोशी बिर्सिएका छैनौं । सरकारकै गैरजिम्मेवार भूमिकाको कारण, त्यहाँको कुटनीतिक निकायका गैरजिम्मेवार भूमिकाको कारण आजसम्म बेपत्ता भएका नागरिकको हामीले पत्ता लगाउन सकेनौं । अहिलेपनि रसियामा अवैध बाटोबाट मान्छेहरु जाने र मरिरहेको समाचार सुनिरहेका छौं । सरकारलाई यसमा खासै वास्ता छैन् । देशका झण्डै एक तिहाई मान्छेहरु शिक्षादेखि रोजगारीलगायत विभिन्न कामको लागि विदेशमा छन् । ती नागरिकको सुरक्षा सरकारको ड्युटी हो । त्यसै कामको लागि सायद हामीले कुटनीतिक नियोगहरु राखेका छौं । राजदूतहरु राखेका छौं’ उनले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय