धनकुटा : नेकपा एमाले धनकुटाको ८ औं जिल्ला अधिवेशनबाट शिव आङ्ला अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी निरेन तामाङलाई १ सय ७ मतले पछि पार्दै आङ्ला अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा आङ्लाले ३ सय १४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी तामाङले २ सय ७ मत ल्याए ।
निवर्तमान उपसचिव समेत रहेका आङ्ला र निवर्तमान सचिवालय सदस्य तामाङबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्षसहित सम्पूर्ण पदाधिकारीमा आङ्लाको प्यानल नै निर्वाचित भएको छ उपाध्यक्षमा २ सय ९४ मतका साथ चिन्तन तामाङ विजयी भए । उनका प्रतिस्पर्धी मनोज राईले २ सय ९ मत ल्याए । सचिवमा २ सय ९६ मतका साथ पर्शुराम नेपाल विजयी भए । उनका प्रतिस्पर्धी शेरबहादुर लिम्बूले १ सय ९६ मत प्राप्त गरे । उपसचिवमा नैन विश्वकर्मा २ सय ९३ मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी डा. गोपाल भट्टराईले १ सय ८७ मत प्राप्त गरे । महिला उपसचिवमा तुलसी राईले २ सय ६५ मतका साथ विजयी भइन् । उनका प्रतिष्पर्धी मनकुमारी तितुङ (तारा) ले २ सय २६ मत प्राप्त गरिन् ।
नेकपा एमाले धनकुटाको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । जसमा उपसचिबमा उमेद्वारी दिएका केशरमान तुम्साले उमेद्वारी फिर्ता लिएका थिए । लेखा समितिका ७ जना सहित ६१ जना सदस्य सर्वसम्बत चयन भएका थिए । पदाधिकारी र ३० जना सदस्यको लागि मतदान भएको हो ।
३० सदस्यको लागि ५७ जनाको उमेद्वारी परेको थियो । जेठ १२ गते शनिबारबाट सुरु भएको नेकपा एमाले धनकुटाको आठौँ जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि १३ गते बेलुका ७ बजेबाट ११ बजेसम्म मतदान भएको थियो । एमाले धनकुटाको अधिवेशनमा ५ सय ४४ जना मतदाता रहेकोमा ५ सय ३७ मत खसेको थियो ।
अधिवेशनबाट जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा र अपांग, मजदुर, पेशागत, दलित तथा अल्पसंख्यक गरि १० प्रतिशतअनिवार्य सहभागि भएको एमाले धनकुटाले जनाएको छ ।