धनकुटा : सहिद भीमनारायण गोल्डकपको १६ औं संस्करणको उपाधी झापाको विर्तामोड युनाइटेड क्लवले जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न फाइनल खेलमा विभागीय टोली एपिएफलाई शुन्यका विरुद्ध तीन गोलले पराजित गर्दै झापाले उपाधी जितेको हो ।

उपाधीसँगै झापाले नगद ५ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता वनेको एपिएफले नगद २ लाख ५० हजार र ट्रफीमा प्राप्त गरेको  छ । झापाको जितमा आशिष चापागाईले ५१ औं मिनेटमा, अभिषेक गुरुङले ६७ औं मिनेटमा र देवेन्द्र तामाङले ९५ औं मिनेटमा गोल गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका कप्तान समेत रहेका आशिष चापागाई घोषित भए । उनले नगद १७ हजार ५ सय ५५  रुपैयाँ सहित ट्रफी प्राप्त गरे । त्यस्तै विधागत तर्फ झापाका सन्दिप लिम्बु उत्कृष्ट गोलकिपर, देवेन्द्र तामाङ उत्कृष्ट डिफेन्डर, अभिषेक गुरुङ उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक योगेश गुरुङ घोषित भए । एपिएफका वुद्धिमान राई उत्कृष्ट मिडफिल्डर घोषित भए । उनीहरुले जनही ७ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी प्राप्त गरे । फाइनल खेलको म्यान अफ दी म्याच एपिएफका प्रदिप लामा घोषित हुँदै ५ हजार ५ रुपैयाँ प्राप्त गरे । कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगर प्रमुख चिन्तन तामाङ सहितका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो । उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो । २०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । उहाँकै सम्झनामा २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय