धनकुटा : छापा संचार माध्यमहरुलाई हेर्ने प्रेस काउन्सिल भए जस्तै अन्लाईन मिडियाहरुलाई नियमन गर्ने मिडिया काउन्सिल गठन गर्ने प्रक्रिया सरकारले अगाडि बडाएको संचार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले बताउनु भएको छ ।
मध्यपहाडी राजमार्ग कोशी खण्ड अन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन गरेर फर्किने क्रममा प्रेस सेन्टर नेपाल धनकुटा शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले सो कुरा बताउनु भएको हो देश विकासका लागी डिजिटलाइजेशन अपरिहार्य जस्तै भैसकेको बर्तमान अवस्थामा नेपालमा संचार माध्यमको नयाँ प्रविधिको विकासलाई नजीकबाट नियमन गर्न पनि कानुन सहितको मिडिया काउन्सिल गठन गर्न आवश्यकता भएको बताउनु भयो ।
मिडियाहरुलाई जसरी भए पनि तत्काल कानुनको दायरामा ल्याउने र करको दायरामा समेत लाने तयारी अहिलेको सरकारले गरिरहेको मन्त्री शर्माले बताउनु भयो ।
सरकारको प्रवक्ता समेत रहनु भएका शर्माले प्रदेश १ मा भैरहेको पहिचानको आन्दोलनको विषयलाई लिएर अहिलेको सरकारको धारण के छ भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नु भयो यो सरकार त पहिचानको मुद्दामा पछि नहटेको र बहु पहिचानको पक्षमा समेत रहेको छ । एउटा दलले मात्र चहेर नामकरण गर्न नसकिने भएको र सबै दललाई समेटेर संविधान अनुरुप प्रदेशसभाले निर्णय गर्ने भएकोले संघीय सरकारको यसमा केहि नलाग्ने बताउनु भयो ।
कोशी नामकरण प्रदेश सरकारको सभाबाट निर्णय भएकोले संघीय सरकारले संविधानको मर्म र भावना विपरीत हस्तक्षेप गर्न नमिल्ने बताउनु भयो ।
पत्रकारहरुको वृद्धि विकासमा अन्य विशेष कार्यक्रम ल्याउने र महिला पत्रकारहरुलाई यो क्षेत्रमा टिकाउनका लागी सरकार सधैं लागीरहने बताउनु भयो । उनले चाडैंनै नेपालमा डिजिटल च्याम्पियन प्रतियोगिता आयोजना गर्ने बताउनु भयो ।
उक्त पत्रकार सम्मेलनमा पत्रकार महासंघ धनकुटा शाखाको तर्फबाट मन्त्री शर्मालाई भवन बनाउने बजेट विनियोजन सहित विभिन्न माग राखेर मागपत्र बुझाएको छ । पत्रकार सम्मेलन प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य सरिता बराइलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रेस सेन्टर प्रदेश सचिव इश्वर थापाले गर्नु भएको थियो ।