– टेकराज भण्डारी
निजगढ, बारा : सधैँको शनिबार घरमै बसेर अध्ययन तथा अन्य क्रियाकलाप गर्ने सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका विद्यार्थी असोज २० गते शनिबार भने खाना खाएर अरु दिनजस्तै विद्यालयमा पढ्न आएका छन् । गत असोज ४ र ५ गते विद्यालय शिक्षा विधेयक २०८० मा असहमति जनाउँदै नेपाल शिक्षक महासंघको आव्हानमा देशैभरका शिक्षक काठमाण्डौँ केन्द्रीत आन्दोलनमा गएपछि बन्द भएको पठनपाठनको पूर्ति गराउन विद्यालयले विदाको दिनमा पनि पठनपाठन गर्न थालेको हो । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले पनि शनिबार पठनपाठन गरेको हो ।
“आन्दोलनकै क्रममा शिक्षक महासंघका पदाधिकारीहरुले विद्यालय बन्द हुँदा अवरुद्ध पठनपाठन बिदाको दिनमा पढाएर पूरा गर्ने अभिव्यक्ति दिनुभएको थियो, सोही अनुसार आफुले विद्यालयमा शनिवार पनि पठनपाठन गरेको” विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले बताउनु भयो ।
आन्दोलनको क्रममा दुई दिन विद्यालय बन्द रहेको र एक दिन आज तथा एक अर्को दिनमा पनि पठनपाठन गरिने प्रधानाध्यापक स्वर्णकारको भनाई छ । “शुरुमा शनिबार पढाई गर्ने भनेपछि केही विद्यार्थी तथा अभिभावक अलमल भएका थिए ।” प्रधानाध्यापक स्वर्णकारले भन्नुभयो, “पछि अवस्थाबारे जानकारी गराई विद्यालय सञ्चालन गर्न लागेको बताएपछि अभिभावक खुुसी भए ।”
आफुहरुले नियमित पढाउने गरेको जस्तै पठनपाठन गरेको विद्यालयका शिक्षक हरिशरण सुबेदीले बताउनु भयो । विद्यालयमा विद्यार्थीको समेत सदाझैँ उपस्थिति रहेको विद्यालयले जनाएको छ । विद्यालयमा करिब २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले विद्यार्थीको सिकाईलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका लागि सबै शिक्षक तथा अभिभावकको सहयोग रहँदै आएको प्रधानाध्यापक स्वर्णकारको भनाई छ । अन्य विद्यालयले पनि बिदाको दिन पठनपाठन गर्ने योजना बनाएका नेपाल राष्ट्रिय शिक्षक संगठन निजगढका अध्यक्ष हस्त बहादुर लामाले बताउनु भयो ।
विद्यालयको भौतिक अवस्था लगायतको व्यवस्थापनमा व्यवस्थापन समिति पनि लागिरहेको व्यवस्थापन समिति अध्यक्ष हरी प्रसाद चौलागाईँले बताउनु भयो । कुनै बेला विद्यालय नै गाभिने अवस्थामा पुगेको यस विद्यालयमा पछिल्लो समय पठनपाठन राम्रो बन्दै गएको र सुधारको धेरै थालनी भएको अभिभावकहरुले बताउने गरेका छन् ।