काठमाडौं : नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई पुर्नसंरचना गर्ने बिषयमा आज गहन छलफल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा भएको छलफलमा कृषि अनुसन्धान सेवा, मानित विश्वविद्यालय, कृषि अनुसन्धान सचिवको आवश्यकता लगायतका बिषयमा छलफल भएको हो ।

नार्कको पुर्नसंरचना गर्नका लागि गठित सुझाव उपसमितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनमाथि छलफल गर्दै बिभिन्न बिषयमा सहभागिहरुले आफ्नो धारणा राखेका छन् ।

छलफलमा सहभागि कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले उपसमितिलाई तत्काल एवं दीर्घकालमा के–के गर्नुपर्ने, त्यसका लागि आवश्यक योजना, जनशक्ति, बजेट लगायतका बिषयमा स्पष्ट खाकासहित प्रतिबेदन तयार गर्नुपर्ने बताए ।

‘नार्कलाई मानित विश्वविद्यालयको रुपमा आवश्यकता र औचित्य कतिको छ ? यो किन चाहिन्छ स्पष्ट रुपमा प्रतिबेदनमा आउँनुपर्यो । यसको संरचना कस्तो हुने ?’ मन्त्री भुसालले भने, ‘यस्तै कृषि अनुसन्धान सचिव, कृषि सेवा आयोग लगायतको बिषयमा कुरा उठेको छ । यी सबै बिषयमा छलफल गरी आएको प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्नुपर्ला ।’

उठेका बिभिन्न बिषयको सम्बोधन केवल मन्त्रालयले मात्रै गर्न नसक्ने बताउँदै उनले कतिपय बिषय मन्त्रिपरिषद, संसद, संसदीय समिति लगायतका ठाउँमा छलफल एवं पारित भएपछि मात्रै कार्यान्वयन हुनसक्ने बताउँदै उनले यी बिषय किन आवश्यक छन् भन्ने कुरा स्पष्ट रुपमा उल्लेख हुनुपर्ने बताए ।

नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले नार्ककै मातहतमा रहने गरी मानित विश्वविद्यालय अहिलेको आवश्यक्ता रहेको बताए । नार्कलाई छुट्टै विश्वविद्यालयको मोडेलमा गठन नगरी नार्क अन्तरगतका प्रतिष्ठानको मातहतमा हुने गरी मानित विश्वविद्यालय गठन गर्नुपर्ने उनले बताए । यसैगरी कृषि अनुसन्धान सचिव, कृषि सेवा आयोग लगायतका बिषयमा समेत उनले आफ्नो धारणा राखेका छन् ।

नार्कको पुर्नसंरचनाका लागि गठन भएको सुझाव उपसमितिका संयोजक डा.टेकबहादुर गुरुङले अहिले सम्म भएको सम्पूर्ण प्रगतिको बारेमा प्रकाश पारेका थिए । छलफलमा सहभागी प्रा.डा. र्दुगामणि गौतमले नार्कमा विषय बिशेषज्ञको स्थायीत्व, बिषयगत अनुसन्धान केन्द्रहरुको विकेन्द्रीकरण, कार्यकारी निर्देशकलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण र विश्वविद्यालयसंग नार्कको समन्वयमा ध्यान दिनुपर्ने कुरा बताए ।

सुझाव उपसमितिका अर्का सदस्य एवं कृषि मन्त्रालयका सहसचिव सबनम सिवाकोटीले विद्यमान ऐनमा सुधार गरी अनुसन्धानको वातावरण बनाउँन र अनुसन्धानकर्ताहरुको मनोबल बढाउँन विशेष योजना सहित दिर्घकालीन रुपमा मानित विश्वविद्यालयलाई समेत नार्कमा समेटनुपर्ने बताईन् ।

यसैगरी उपसमितिका अर्का सदस्य डा.दोजराज खनालले नार्कलाई अनुसन्धान सेवा र विभाग, कार्यकारी निर्देशकलाई अनुसन्धान सचिवको रुपमा जिम्मेवारी दिदा अहिलेका धेरै समस्या समाधान हुने बताए ।

बिषयगत निर्देशक लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा बिषयगत निर्देशकहरुले मन्त्रीसमक्ष आ–आफ्नो बिषयमा नार्कमा भइरहेका अनुसन्धानका गतिविधिका बारेमा जानकारी गराएको कुरा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले जानकारी गराए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय