काठमाडौं : सरकारले संविधान दिवस भव्यरुपमा मनाउँदै गर्दा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले सोही संविधानको विरोध अन्त्येष्टि यात्रा निकालेको छ । अन्त्येष्टि यात्रा निकाल्दै गर्दा प्रदर्शनकारी र प्रहरीका बीचमा केही ठाउँमा समान्य झडप समेत भएको छ ।
आजपाले आज संविधानको विरोध गर्दै अन्त्येष्टि यात्रा निकालेको हो । ‘संविधान दिवसलाई जनस्तरबाटै बहिष्कार गरौँ ! देश बचाउन नयाँ व्यवस्था निर्माण गरौ !!’ भन्ने मुल नाराका साथ आजपाले बिरगंजमा संविधानको अन्त्येष्टि यात्रा निकालेको छ ।
यस्तै आजपा निकटको आम विद्यार्थी मोर्चाले रौतहटको चन्द्रपुरमा संविधानको अन्त्येष्टि यात्रा निकालेको छ । जनकपुर, कलैया, राजबिराज, बिराटनगर भैरहवा लगायतका विभिन्न शहरहरुमा समेत आजपाले विरोध प्रदर्शन गर्दै संविधानको अन्त्येष्टि यात्रा निकालेको छ ।
यसैगरी आजपा निकटको आईटी आर्मीको आयोजनामा काठमाडौंमा ‘नेपालको संविधान ः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको । अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अहिलेको संविधान खारेज गरी नयाँ संविधान लेख्नुपर्ने आवश्यक्ता औल्याएका छन् ।
देशमा अस्थिरता ल्याउने, वैदेशिक हस्तक्षेप बढाउने, दलको नेतालाई राजा बनाउने, संघीयतालाई विफल गर्ने, अर्थतन्त्रलाई धरासायी बनाउने, किसान र व्यवसायीलाई आत्महत्या गर्न मजबुर गर्ने, युवा तथा विद्यार्थीहरुलाई देश छोडेर विदेश जान विवस गर्ने, शिक्षा र स्वास्थ्यको स्थिति जर्जर बनाउने जस्ता समस्या बढ़ाउने यो संविधानको औचित्य नभएको आजपाको निष्कर्ष छ ।
आजपा महासचिव उपेन्द्र साहले अहिलेको संविधानले देशलाई समृद्ध बनाउँन नसक्ने र अस्थिरता कायमनै राख्ने भएकाले यो संविधानको औचित्य समाप्त भईसकेको बताए । आम जनताको शासन एवं आम जनताको गणतन्त्र स्थापनाका लागि अहिलेको संविधान खारेज गरी नयाँ संविधान लेख्नुको बिकल्प नभएको उनले बताए ।
‘आम जनताको गणतन्त्र स्थापनाका लागि अहिलेको संविधानको जनस्तरबाट विरोध गर्नुपर्छ । अहिलेको संविधानको जनस्तरबाटै चौतर्फी रुपमा विरोध पनि भईरहेको छ । आम जनताले अहिलेको संविधान अस्वीकार गर्दै नयाँ व्यवस्थाका लागि सडकमा उत्रिसकेका छन्’ आजपा महासचिव साहले भने ।
यसैबीच आजपा निकटको आईटी आर्मीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व आदि सबै केवल हात्तीको देखाउने दात्तमा सिमित रहेकोले असोज ३ लाई संविधान दिवसको रुपमा मनाउनुको कुनै औचित्य नभएको जनाएको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले व्यवस्था परिवर्तन भएको देखिएतापनि सारतः कार्यान्वयनमा उही पुराना व्यवस्थाहरुभन्दा पनि थप विकृत गण्डा व्यवस्था रहेकाले यस मृत संवैधानिक व्यवस्थाहरुको समयमैं अन्त्येष्टि नगर्ने हो भने यसको बढ्दो दुर्गन्धले देश र जनतालाई अझ अस्वस्थ बनाई थप दुःख पीडा दिने निश्चित रहेको जनाएका छन् ।
नीति, नियत र नेतृत्वको समष्टिगत रुप नै नतीजा हुने भएकाले अवस्थालाई व्यवस्थासँग अलग गर्न नमिल्ने बताउँदै उनले यस गलत एवं विकृत संविधानको भण्डाफोर गर्दै यथाशीघ्र मुलुक र आम जनताको दीर्घकालिक हितको प्राप्ति, रक्षा एवं विकास हुन सक्ने गरी आम नेपाली जनताको मनोभाव तथा विभिन्न परिवर्तनका आन्दोलनहरुको मुलमर्म अनुरूपको नयाँ व्यवस्था ल्याउन तर्फ अग्रसर हुन आवश्यक रहेको साहले जनाएका छन् ।
‘गलत संवैधानिक प्रावधानहरूले गर्दा देशमा दिनप्रतिदिन राजनीतिक एवं आर्थिक संकट बढ्दै जानु, धार्मिक, संस्कृतिक एवं साम्प्रदायिक हिंसाको माहौल बढ्दै जानु, राज्य भ्रष्टाचार एवं कुशासनको दुष्चक्रमा फस्नु, लोकतन्त्रको स्थानमा दलीय लुटतन्त्र (दलतन्त्र) क्रियाशील रहनु, स्थिरता, बदलाव, विकास र समृद्धिको सपना चक्नाचुर हुनु अर्थात समग्रमा भन्नुपर्दा संवैधानिक दोषहरुको कारणले गर्दा देश अग्रगति भन्दापनि अधोगतितर्फ लागेको देखिन्छ’ आजपा प्रवक्ता समेत रहेका आईटी आर्मीका संयोजक साहले भने ।
नेपालको संविधान निर्माण पश्चात् यसको सफल कार्यान्वयन मार्फत देशबाट संक्रमणकाल र राजनीतिक द्वन्द्वको अन्त्य सहित स्थिरता, सुशासन, बदलाव र विकासले गति लिने अपेक्षा गरिए पछि गलत संवैधानिक व्यवस्थाकै कारण देशले सफलता हासिल गर्न नसकेको आजपाको निष्कर्ष रहेको छ ।
यस गलत एवं विकृत संविधानको भण्डाफोर गर्दै यथाशीघ्र मुलुक र आम जनताको दीर्घकालिक हितको प्राप्ति, रक्षा एवं विकास हुन सक्ने गरी आम नेपाली जनताको मनोभाव तथा विभिन्न परिवर्तनका आन्दोलनहरुको मुलमर्म अनुरूपको नयाँ व्यवस्था ल्याउन तर्फ अग्रसर हुन आजपाले आह्वान गरेको छ ।
नेपालको संविधान कुनै निश्चित दर्शन, सिद्धान्त र शासन प्रणालीमा आधारित नभई राजनीतिक भागबण्डा (लेनदेन) को आधारमा भएकोले संविधान कार्यन्वयनको पहिलो दशकमा नै यसले आफ्नो दुर्गुणहरु देखाउन थालिसकेको आजपाले जनाएको छ ।
‘देशमा सन्तुलित गाँस, सुरक्षित आवास, राम्रो कपास, गुणस्तरीय शिक्षा, राम्रो स्वास्थ्य उपाचार, भरपर्दो रोजगारी जस्ता आधरभूत मौलिकहकहरुको समेत सफल कार्यान्वयन हुन सकिरहेको छैन’ आजपाले भनेको छ, ‘देश अराजकता र सिन्डिकेटवादको दलदलीमा फस्दै गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व आदि सबै केवल हात्तीको देखाउने दात्तमा सिमित रहेको छ ।’
सारमा व्यवस्था परिवर्तन भएको देखिएतापनि सारतः कार्यान्वयनमा उही पुरानोभन्दा पनि विकृत गण्डा व्यवस्था रहेको जनाउँदै आजपाले अगाडी भनेको छ, ‘यस मृत संवैधानिक व्यवस्थाहरुको समयमैं अन्त्येष्टि नगर्ने हो भने यसको बढ्दो दुर्गन्धले देश र जनतालाई अझ अस्वस्थ बनाई थप दुःख पीडा दिने निश्चित छ । नीति, नियत र नेतृत्वको समष्टिगत रुप नै नतीजा हुने भएकाले अवस्थालाई व्यवस्थासँग अलग गर्न मिल्दैन ।’