![](https://missionnepalkhabar.com/wp-content/uploads/2023/09/IMG_20230918_220249.jpg)
काठमाडौं : आम जनता पार्टी (आजपा)का महासचिव उपेन्द्र साहले आम जनतालाई बैंकिङ सेवा सुविधा तथा ऋण दिलाउँन एवं बैंकहरुको मनोमानी व्याज बढाउँने कार्यका विरुद्धमा पार्टीले सडक आन्दोलन गर्ने घोषणा गरेका छन् ।
रौतहटको कटहरियामा आज आयोजित आजपा निकटको आईटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै महासचिव साहले यस्तो बताएका छन् । बैंकहरुले स्थानीयको पुँजी संकलन गरेर ठुला पूँजीपतीलाई मात्रै ऋण प्रवाह गरिरहेको बताउँदै गाउँका सर्वसधारणले ऋण पाउँन नसकेको बताए ।
‘गाउँ गाउँ र जिल्लाबाट सर्वसधारणको पूँजी संकलन गरेर बैंकले ठुला र शहरिया पूँजीपतिलाई ऋण दिने तर गाउँका त्यही सर्वसधारणले ऋण माग्न जाँदा बैंकले बिभिन्न बाहाना गर्ने गरेका छन्’ आजपा महासचिव साहले भने ।
आईटी आर्मीको रौतहट जिल्ला भेलाले आम जनतालाई बैंकिङ ऋण दिलाउन र बैंकको मनोमानी ब्याज बढ़ाउने कार्य रोक्नका लागि ‘आम आन्दोलन’ गर्ने निर्णय सहित सम्पन्न भएको छ ।
आजपा महासचिव साहको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा पार्टी उपमहासचिव एवं मधेस प्रदेशका पूर्वसांसद कुन्दन कुशवाहा, प्रतिनिधिसभाका पूर्वसांसद एवं पार्टी सचिव समिना हुसेन लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।
यसैगरी सो भेलाले संबिधान दिवसको दिन ३ असोजमा संविधानको विरोधमा विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । सरकारले ३ असोजमा संविधान दिवस उत्सवका रुपमा मनाउँन अपिल गरिरहेको बेलामा आजपा निकटको आईटी आर्मीले त्यसको विरोधमा कार्यक्रम गर्ने घोषणा गरेको हो ।
सो भेलाले जयलाल महतोको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ । महतोको नेतृत्वमा नयाँ कमिटी चयन भएपछि जिल्लाभरी आईटी आर्मीको कमिटीहरु विस्तार गर्ने निर्णय भेलाले गरेको छ ।