काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुडाल, नहकुल सुवेदीको पूर्ण इजलासले कोशी सरकार ढाल्ने फैसला जारी गरेको हो । थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।
न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पुर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश जारी गरेको छ ।
गत भदौ ४ गते थापाले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। विश्वासको मत लिँदा संविधानको उल्लंघन भएको भन्दै एमाले दोस्रोपटक सर्वोच्च पुगेको हो ।
यता, मुख्यमन्त्री थापा पक्षले भने उपसभामुख सिर्जना दनुवार बैठक बोलाएर काठमाडौं गएर आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाएको छ। एमालेले आफ्नो ज्येष्ठ सांसदहरूलाई समेत बैठकमा अनुपस्थित गराएको थियो । यदी उपसभामुख अथवा एमालेका ज्येष्ठ सांसदले सभाध्यक्षता गरेको भए थापाले निर्विवाद आवश्यक बहुमत पाउने थिए ।