काठमाडौं : आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले ठग मेनपावर कम्पनी, एजेन्ट तथा भ्रष्ट कर्मचारीलाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विशेष ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ ।

सिंहदरवार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आज आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साह नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउँदै आफूहरुको माग पुरा नभएको कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

निजी मेनपावरहरु खारेज गरी सरकारी संयन्त्रमार्फत कामदार विदेश पठाउने व्यवस्था गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटहरुलाई कार्यवाही गर्नुपर्ने, गलत एवं असुरक्षित श्रम मागलाई स्वीकृत गर्ने अधिकारीलाई कानूनी दायरामा ल्याउनुपर्ने, मनपरी रकम असुली रोक्न कामदार छनोटको प्रक्रिया पारदर्शी बनाउनुपर्ने, फ्रि भिषा – फ्रि टिकटको नियम व्यवहारतः कडाइका साथ लागू गर्नुपर्ने माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यसैगरी वैदेशिक रोजगार पीडितहरूको लगत तयार गर्नुपर्ने, विदेशमा अल्पत्र र समस्यामा परेकाहरुलाई शिघ्र उद्दार गर्नुपर्ने र पीडितहरुको समस्या समाधान गर्न स्वदेश तथा विदेशमा सेवा दिने विशेष संयन्त्र खडा गर्नुपर्ने, मेडिकल, विमा, अभिमुखीकरण, श्रम स्वीकृति लगायतका कामहरुलाई थप सहज गर्नुपर्ने, सम्भावित नयाँ गन्तव्यहरुको पहिचानको लागी ठोस प्रयास तथा सुरक्षित आप्रवासनको लागि थप जनचेतना अभिवृद्धि गर्नुपर्ने, नेपालभित्रका सबै उद्योग, कलकारखाना तथा व्यापार व्यवसायमा सय प्रतिशत स्वदेशी कामदारलाई अवसर दिनुपर्ने, आत्मनिर्भर, स्थिर र सबल अर्थतन्त्र निर्माण गर्न स्वदेशमै थप स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्ने लगायतका मागहरु आईटी आर्मीले सरकारसंग गरेको छ ।

‘उपरोक्त न्यायोचित मागहरुलाई नेपाल सरकारले नजरअन्दाज गर्ने दुष्प्रयास गरेमा हामी आम श्रमजीवि तथा उत्पीडित जनताको पक्षमा अझ थप कडा संघर्षको कदमहरु चाल्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने विषय अग्रीम रुपमा जानकारी समेत गराउन चाहन्छौं’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपालमा न कुनै भरपर्दो रोजगारीको अवसर छ न कुनै सुरक्षित व्यवसायको आधार नै जसले गर्दा बेरोजगारी समस्या दिनानुदिन बढ्दै गईरहेको छ र परिणामतः युवाहरु वैदेशिक रोजगारको सहारा लिन बाध्य रहेको आईटी आर्मीले जनाएको छ ।

नेपालमा व्यवस्था परिवर्तनको हरेक आन्दोलनहरुमा अग्रणीय योगदान गरेका युवाहरु परिवर्तित व्यवस्थामा आफ्नो कुनै ठोस भविष्य र स्थान देख्न नपाएकै कारण आज परदेशको मरुभूमिमा हण्डर ठक्कर खाएर नारकीय जीवन जीउन बाध्य मात्र नभएको जनाउँदै आईटी आर्मीले हठाकठा युवाहरु कलिलै उमेरमा बाकसमा बन्द लास भई नेपाल भित्रिरहेको काहालिलाग्दो अवस्था पनि रहेको जनाएको छ । वैदेशिक रोजगारमा गएका तिनै युवाहरुको रगत र पसिनाले साटिएको पैसाले देश चलिरहेको छ तर बिडम्बना नै भन्नुपर्छ देशमा आज तिनै युवाहरुको दुःख पीडा बुझिदिने कोही नभएको उसले जनाएको छ ।

‘यस पुनित उद्देश्य÷लक्ष्य हासिल गर्न नेपाल सरकारले युवा जनशक्तिलाई मुलतः उत्पादनशील क्षेत्रसँग जोडेर स्वदेशमै स्वरोजगारको अवसर सिर्जना गर्न केन्द्रित हुनुपर्ने समयमा त्यसको ठीक विपरीत राज्यले कमिसनको लोभमा जनता मार्न असुरक्षित श्रम मागलाई पनि स्वीकृति दिनु, ठग मेनपावरसंग साँठगाँठ गरेर मान्छे बेच्ने धन्दा चलाउनु, कामदार छनोटको प्रक्रिया अपारदर्शी राख्नु, मनपरी रकम असुली गर्नु, मेडिकल, विमा, अभिमुखीकरण, श्रम स्वीकृति लगायतका अनेकन नाममा अत्यधिक झमेला/झंझट एवं आर्थिक भार थोपार्नु आदि दुखद बिडम्बनाको विषय हो’ आईटी आर्मीले भनेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय