काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री डा.बेदुराम भुसालले चामलमा नेपाललाई आत्मनिर्भर बनाउँन चैते धानको उत्पादन बढाउँनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सरकारले सिचाई, बिउँविजन, यन्त्र लगायतका प्रबन्ध मिलाउँन तयार रहेको मन्त्री भुसालले बताए ।

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज (बुधबार) आयोजना गरेको अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री डा. भुसालले यस्तो बताएका हुन् ।

चैते धानको उत्पादन बढाउँनका लागि कृषि र सिचाई मन्त्रालयका बीचमा समन्वय गरी योजना निर्माण भईरहेको बताउँदै उनले योजना निर्माण पश्चात आक्रमक रुपमा योजनाहरु लागु गरी धान उत्पादन अहिलेको भन्दा बढी गर्ने बताए ।

‘देशैभरी रहेका खाली जग्गाको हामीले उपयोग गर्छौ । हामीलाई चाहिने भन्दा बढी नै धान उत्पादन हामी गर्न खोजेका छौं । त्यसका लागि चैते धानको उत्पादन बढाउँन रणनीति निर्माणमा लागेका छौं’ मन्त्री भुसालले भने, ‘सिचाई, बिउँबिजन, यन्त्र लगायतको प्रबन्ध सरकारले गर्छ । सिचाईका लागि कृषि र सिचाई मन्त्रालयका बीचमा अहिले छलफल चलिरहेको छ । किसानलाई आवश्यक बिषय हामीले उपलब्ध गराउँनेछौं ।’

कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईले कृषि क्षेत्रमा भईरहेको अनुसन्धान तथा बिभिन्न कार्यक्रमले कृषि र कृषकको बिकासका साथै सरकारले अघि सारेका योजना एवं रणनीति पुरा गर्न लागि परेको बताए ।

कृषि र कृषकका बिकासका लागि नार्कका बैज्ञानिक एवं कर्मचारीले गरिरहेका बिभिन्न कामले सरकारको लक्ष्य प्राप्तिका लागि सहयोगी सिद्धहुने उनले बताए । सरकारका योजना एवं रणनीतिलाई पुरा गर्नका लागि नार्क लागि परेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका संयोजक डा.रामबरण यादवले चैते धान उत्पादन बढाउँने बारेमा आफ्नो प्रस्तुति पेश गरेका थिए । चैते धान उत्पादन गरेर नेपाललाई आत्मनिर्भर बनाउँन सकिने उनले बताए । चाहिने भन्दा बढी धान नेपालमा उत्पादन गर्न सकिने बताउँदै त्यसका लागि सरकारले किसानलाई बिउ, सिचाई, यन्त्रको व्यवस्था गर्नुपर्ने यादवले बताए ।

अहिले नेपाललाई बार्षिक रुपमा ७९ लाख ७० हजार मेट्रिकटन धान चाहिन्छ । तर नेपालमा ५६ लाख १ हजार मेट्रिकटन धान मात्रै उत्पदन भईरहेको यादवले बताए । खानका लागि ६८ लाख ७० हजार टन र बिउ सहित अन्य प्रयोजनाका लागि ११ लाख टन गरी ७९ लाख ७० हजार मेट्रिकटन धान उत्पादन गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

चैते धान २ लाख ५० हजार हेक्टर क्षेत्रमा थप उत्पादन बढाउँने हो भने १३ लाख ७२ हजार टन उत्पादन गर्न सकिने उनले बताए । उत्पादन बढाउँन सरकारले किसानलाई आवश्यक सामाग्री उपलब्ध गराउँनुपर्ने सुझाव उनको छ ।

कार्यक्रममा नार्कका पूर्व कार्यकारी निर्देशक डा.टेकबहादुर गुरुङले नार्क पूर्नसंरचना उप– समितिको प्रतिवेदन प्रस्तुत गर्दै नार्कलाई अनुसन्धान विभागमा परिणत गर्नुपर्ने सुझाव दिएका छन् । नार्कको कार्यकारी निर्देशकलाई कृषि अनुसन्धान सचिव बनाउँनुपर्ने सुझाव पेश गर्दै गुरुङले नार्कमै मानित विश्वविद्यालय निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

कषि मन्त्री भुसालले आवश्यक थप छलफल एवं अनुसन्धान गर्दै नार्कलाई उत्कृष्ठ एक अनुसन्धान संस्थाको रुपमा अगाडी बढाउँनुका साथै विश्वविद्यालयको गठनको बारेमा समेत थप छलफल र अनुसन्धान गरी अगाडी बढने बताए ।

अनुगमन तथा मुल्यांकन महाशाखा नार्कका बैज्ञानिक डा.विवेक सापकोटाले नार्कको खाली एवं बाझो जग्गाको उपयोगको बारेमा प्रस्तुति पेश गर्दै त्यसमा बिभिन्न किसिमका बाली उत्पादन गर्न सकिने बताए । नार्क अन्तरगतका बिभिन्न कार्यालयहरुमा जङ्गल, चरन, खोल गरी ४१ प्रतिशत जग्गा खाली रहेको उनले बताए । ५ सय ३१ हेक्टर क्षेत्र खाली रहेको र यसमध्ये ३ सय २८ हेक्टर क्षेत्रलाई बिभिन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने सापकोटाले बताए ।

कृषि मन्त्री भुसालले नार्कको ति खाली एवं बाझो जग्गाको उपयोग गर्दै बिभिन्न बाली उत्पादन गर्नुपर्ने सुझाव दिए । जडीबुटीका साथै धान, मकै, तरकारी, फलफलु लगायतका खाद्य उत्पादन गर्न ति खाली एवं बाझो जग्गाको उपयोग गर्नुपर्ने उनले बताए । देशैभरी रहेका खाली जग्गाको उपयोग गर्दै बिभिन्न बाली उत्पादनका योजना पेश गर्न निर्देशन दिदै मन्त्री भुसालले त्यसका लागि सिचाईका साथै अन्य आवश्यक बिषयमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी कार्यक्रममा टिकापुर क्षेत्रको केरामा देखिएको पानमा रोगको प्रजाति टिआर ४ बारेमा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका बैज्ञानिक डा.रामबहादुर खडकाले जानकारी गराए । केरामा लाग्ने पानमा रोग टिआर ४ को बारेमा खडका नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको र टिकापुर क्षेत्रमै पुगेर त्यहाँको अवस्थाको बारेमा समेत उनले जानकारी गराए ।

नेपालमा २६ हजार हेक्टरमा केरा खेती भईरहेको र १५ अर्ब भन्दा बढीको कारोबार हुने गरेको बताउँदै उनले यस रोगको नियन्त्रणका लागि भईरहेको प्रयासको बारेमा जानकारी खडकाले गराएका छन् । टिकापुर क्षेत्रमा यो रोग देखिएपछि अन्य क्षेत्रमा फैलिन नदिनका लागि नार्कबाट भईरहेको प्रयास बारे जानकारी गराउँदै उनले यसमा सरकारबाट सहयोग गर्नुपर्ने सुझाव दिए ।

खडकाको सुझाव पश्चात मन्त्री भुसालले यसबारेमा तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गर्दै यस रोगको नियन्त्रणका लागि सबै प्रयास एवं सहयोग उपलब्ध गराउँने प्रतिबद्धता व्यक्त गरे । आवश्यक अध्ययन गरी सरकारले रोग नियन्त्रणका लागि किसानलाई क्षतिपुर्ति दिएर त्यही आगो लगाई अन्य क्षेत्रमा रोग फैलिन नदिने उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय