काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार द्वीपक्षीय भेटवार्ता भएको छ । र, सहकार्य र सम्बन्धका धेरै आयामबारे बृहत छलफल भएको छ ।
शिष्टाचार भेटका लागि गृह मन्त्रालय आउनुभएका राजदुत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उहाँको कार्यकालमा दुईदेशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
समयका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठप्रति कृतज्ञता जनाउँदै राजदूत पार्कने नेपालमा आफुले तीन महिनादेखि राजदूतको रूपमा काम गरिरहेको तथा नेपाल र दक्षिण कोरियाको मैत्रीपूर्ण एवम् दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
दुई देशबीच सांस्कृतिक लगायत धेरै समानता रहेको आगामी वर्ष दुई देशको कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्न लागेको समेत उहाँले स्मरण गर्नुभयो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको र ‘कोइका’मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा सहयोग पुर्याएकोमा धन्यवाद दिनुभयो । दशकौंको आन्दोलनपछि प्राप्त राजनीतिक परिवर्तनसँगै अहिले नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्त्वपूर्ण हुने पनि श्रेष्ठले बताउनुभयो ।
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाईसकिएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा दक्षिण कोरियाको सहयोग र साथको निरन्तरताको अपेक्षा राखेको उहाँले बताउनुभयो । ‘इपिएस’ कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिंदै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्न समेत आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं र दक्षिण कोरियाको राजधानी सोलबीच सिधा हवाई सम्पर्क स्थापना गर्न पहल गर्नुपर्ने समेत बताउनु भयो । त्यसबाट नेपाल आउने दक्षिण कोरियाली पर्यटकको संख्यमा उल्लेखनीय वृद्धी हुने, नागरिक नागरिकविचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उहाँले बताउनुभयो । नेपाल भ्रमण गर्ने कोरियाली नागरिकहरूको सुरक्षामा निश्चिन्त हुन समेत उहाँले आग्रह गर्नुभयो ।
त्यसक्रममा राजदूत पार्कले नेपाल-दक्षिण कोरिया सम्बन्धका तीन आधार शान्ति, नागरिक नागरिकबिचको सम्बन्ध र समृद्धि भएको बताउनुभयो।’इपिएस’ कार्यक्रमअन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको समेत बताउनुभयो ।
‘इपिएस’ र ‘कोइका’मार्फत उद्यमशिलताको प्रवर्द्धन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार रहेको र सामसुङ लगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीहरूले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
राजदूत पार्कले नेपाल भ्रमणमा आउने दक्षिण कोरियाली पर्यटक र बौद्ध धर्मावलम्बीहरूको संख्या बढ्दो रहेको समेत बताउनुभयो। यसै वर्ष नेपाल आएको बौद्ध धर्मावलम्बीहरूको प्रतिनिधिमण्डल टोलीको सुरक्षा र यात्रा सहजीकरणका लागि गृह मन्त्रालय र अध्यागमन विभागलाई उहाँले विशेष धन्यवाद दिनुभयो ।