काठमाडौं : आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्ड घटनाका दोषीहरुलाई कारवाही नगरे चुप लागेर नबस्ने बताएका छन् । सत्ताको आडमा पीडितलाई सरकारले न्याय नदिने षडयन्त्र भईरहेको बताउँदै उनले न्यायको माग गर्दै पीडितहरु अन्तर्राष्ट्रिय अदालत (हेग)सम्म जान सक्ने चेतावनी दिए ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा सोमबारदेखी शुरु भएको आजपा केन्द्रीय कमिटी बैठकको उदघाटन गर्दै अध्यक्ष साहले पीडितहरुसँग सहमति गरे पनि कुर्सी हल्लिने भएपछि सरकार पछि हटेको टिप्पणी गरेका छन् । गौर हत्याकाण्ड घटनामा पनि १७ वर्ष पहिला नै जाहेरी दर्ता भएको भए पनि अहिलेसम्म छानबिन समेत नगरेको उनले बताए ।

गौर हत्याकाण्ड घटनाको विषयमा पीडित संघर्ष समिति र सरकारबीच पाँच बुँदे सहमति भए पनि सरकार पछि हटेको भन्दै उनले यदि नेपालबाट न्याय नपाए पीडितहरु अन्तर्राष्ट्रिय अदालत (हेग) सम्म जाने सक्ने बताए । ‘कानुनको शासन छ कि कुर्सीको ? यदि सरकारले यसरी नै लटरपटर गर्ने हो भने पीडितहरु चुप लागेर बस्दैनन्, हाम्रो पार्टी चुप लागेर बस्दैन’ साहले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरुलाई जोगाएको, ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई मुद्दा चलाउनुको साटो सरकारी साक्षी बनाएको बताउँदै उनले सुन काण्डमा पनि ठूला नेताहरुको नाम आएपछि कारवाही गर्नबाट सरकार हच्किएको दावी गरे ।

अध्यक्ष साहले देशमा लुटेर विदेशमा गई मोज गर्नेहरू सत्तामा रहेको आरोप समेत लगाए ।
देश लुटेर विदेशमा सम्पत्ति थुपार्नेहरू सत्तामा हाबी भएको र उनीहरूकै पक्षमा ऐन कानून तथा प्रावधानहरू बनिरहेको आरोप उनले लगाए ।

उनले विदेशमा खुन पसिना बगाएर भए पनि नेपाल बनाउन चाहनेहरू देशमा अपमानित भइरहेको तर नेपालमा लुटेर विदेशमा थुपार्नेहरू सम्मानित भइरहेको बताए । सरकार, शासन र प्रशासनमा ती वर्गका कुनै पनि काम नरोकिएको उनको भनाइ थियो । उनले गैरआवासीयलाई नागरिकता दिने विधेयक पारित अचल सम्पत्ति बाहिर लैजाने बाटो खोल्न भएको आरोप लगाए ।

सत्तामा देश लुटेर विदेश पुर्याउने वर्गहरू भएकै कारण देश असफलतातर्फ उन्मुख भइरहेको र अहिले देश संकटग्रस्त अवस्थामा रहेको उनले बताए । जति पनि प्रावधानहरू नेपालमा बनिरहेका छन् ती लुटेर भाग्नेहरू, लुटेर विदेशमा मोज गर्नेहरूको पक्षमा बनिरहेका छन् । यसबारे हामी गम्भीर हुन जरुरी छ । जबसम्म सत्तामा यी वर्ग रहन्छन्, तबसम्म हाम्रो मुलुक उन्नतितर्फ अघि बढ्न नसक्ने उनले बताए ।

‘अर्को नेपाली छ जसले नेपालभरि दोहन गर्छन्, लुट्छन् र विदेश पुर्याइदिन्छन् । एउटा श्रम गर्ने, देश विदेश मरेर भए पनि ठक्कर हण्डर खाएर पनि नेपालमा पैसा ल्याउन लागेको छ । अर्को दोहन गर्छन्, विदेश पठाइदिन्छन् । नेपाालको सत्तामा को छन ? अहिले कसको हातमा सत्ता छ ? सत्ताको चरित्र कस्तो छ ? को हुन् सत्ताका मालिक ? नेपाल बनाउने वाला छ कि नेपाललाई दोहन गरेर विदेश पुर्याउने वाला छ ? साहले प्रश्न गरे ।

उनले अगाडी भने, ‘दुईथरिका मान्छेहरू विदेशमा छन् । यसो नजर दौडाउनुहोला । एक लुटेर लिनेवाला छ । अर्को विदेशमा तड्पिने, मर्ने, खुन–पसिना चुहाउने र पैसा ल्याएर नेपाल बनाउने वाला छ । आज नेपालमा भविष्य देख्ने, नेपाल बनाउने खोज्नेहरू अपमानित छन् । नेपाल लुटेर, बेचेर विदेश थुपार्नेहरू सम्मानतित छन् । सत्ता सायद तिनैको हो भन्ने देखिन्छ । जबसम्म देश लुटेर विदेश पु¥याउने भगौडाहरू सत्तामा हाबी रहन्छ देशको उन्नति सम्भव छैन । राज्य सत्ताकै चरित्र भनेकै भगौडा दलाल चरित्र छ । नेपाललाई दोहन गर्ने र नेपालका सम्पत्तिहरू विदेश पुर्याएर मोज गर्ने यिनै वर्गको वर्चस्व रहेसम्म नेपालको भविष्य सम्भव छैन ।’

यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको हितमा नभएको भन्दै उनले यसलाई खारेज गर्नुपर्ने बताए । १३ भदौबाट कार्यान्वयन हुन लागेको एमसीसी सम्झौता खारेजका लागि नेपाली जनताले आन्दोलन गर्नुको बिकल्प नभएको उनले बताए । केही मुठिभरका नेताले नेपाललाई एमसीसी सम्झौता मार्फत बिक्री गर्न खोजेको आरोप उनले लगाए ।

दुई दिनसम्म चल्ने आजपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष साहले राजनीतिक एवं सांठनिक प्रतिवेदन पेश गरेका छन् । आजपा महासचिव उपेन्द्र साहका अनुसार बैठकमा अध्यक्षले पेश गरेको राजनीतिक एवं सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

यसैगरी बैठकमा पदाधिकारीलाई पूर्णता दिने, प्रदेश कमिटीको पूर्णता तथा बैठक, जिल्ला भेला तथा बैठक, जनसंगठन र मोर्चाको केन्द्रीय कमिटी गठन एवं बैठक, बिभागहरुको गठन लगायतका बिषयमा छलफल हुने महासचिव साहले बताए । यस्तै बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कामको समिक्षाका साथै पार्टी एकीकरण लगायतका बिषयमा गम्भिर छलफल हुनेछ ।

‘एक कमिटी, एक संघर्ष’ को नीति अनुरुप प्रत्येक स्थानीय कमिटीहरुले गर्ने संघर्ष, आम जनतालाई बैकिंग ऋण, गरिब दलितलाई आवास, वैदेशिक रोजगार पीडितलाई न्याय, मदरसा शिक्षालाई मान्यता, सार्वजनिक यातायातमा बिद्यार्थीलाई छुट लगायतका बिषयमा छलफल एवं महत्वपूर्ण निर्णय गरिने आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए ।

केन्द्रीय कमिटीको बैठकमा नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्व सांसद समिना हुसेन सहितका नेता कार्यकर्ता आजपामा प्रवेश गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय