वीरगंज : उपप्रधान तथा गृहमन्त्री नारायणकाजि श्रेष्ठले गौर हत्या काण्ड प्रकरणमा पिडितसंग गरिएको सहमति अनुसार छानबिन गरी दोषीलाई कारबाही हुने बताएका छन् । आइतबार वीरगन्जमा प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा जवाफ दिदैं गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले भने,’ पिडित पक्षसंग सरकारले गरेको ५ बुँदे सहमतिमा उल्लेख भए अनुसार घटनाका बेलामा परेका जोहरीसमेतको आधार बनाएर समग्र छानबिन गरि दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याएर सम्बन्धित निकायले यो प्रकरणलाई निष्कर्षमा पुरयाउँछ । रौतहटको गौर स्थित राइसमिलको चौरमा २०६३ साल चैत ७ गते तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरम बिच भएको भिडन्तमा २७ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलनरत पिडित पक्ष र गृहमन्त्रालयबिच गत साउन २३ गते ५ बुँदे सहमति भएको थियो ।
गृहमन्त्री श्रेष्ठले गौर हत्या काण्ड प्रकरणका पिडित पक्षसंग गृहमन्त्रालयले गरेको पाँच बुँदे सहमतिबाट सरकार पछाडि नहटेकोपनि प्रष्ट पारे । श्रेष्ठले भने,’ सरकार कानूनी शासनलाई स्थापित गर्न प्रतिबद्ध छ। कुनैपनि सन्दर्भमा काुननको उल्ल्ंघन हुन दिदैनौ । गौर हत्याकाण्डका पिडित पक्षसंग भएको सहमति अनुसार त्यसमा छानबिन हुदैंछ । गृहमन्त्री श्रेष्ठले गिरीबन्धु टि स्टेट प्रकरण बारेपनि अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारीपनि गराए । अहिलेको सरकार मुख्यत सुशासन , समृद्धि र सामाजिक न्याय स्थापित गर्न केन्द्रित रहेको उनले बताए ।
उनले भने,’ मुलुकमा यत्रो ठूलो राजनीतिक परिवर्तन त भयो तर आम जनताले यत्रो ठूलो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धीको साँच्चिकै अनुभूती गर्न नपाएको हाम्रो निष्कर्ष छ । त्यसैले मुलुकमा सुशासन स्थापित गरी समृद्धिको यात्रा तर्फ अगाडि बढाउँदै राजनीतिक परिवर्तनका उपलब्धीको अनुभूती जनतालाई गराउने संकल्पका साथ सरकार अगाडि बढिरहेको उनले बताए ।
मिटरब्याजी विरुद्धको कानुन निर्माण , नक्कली भुटानी शरणार्थी प्रकरण संलग्नलाई कारबाही , ललिता निवास र सुन तस्करी प्रकरणमा चलिरहेको अुसन्धान लगायतका कामले नै सरकार सुशासनको दिशामा बढेको कुरा प्रष्ट भएको उनले बताए । धरानमा गौ हत्याको विषयलाई लिएर भइरहेको पछिल्लो घटनाक्रम बारे गृहमन्त्री श्रेष्ठले मुलुकमा धार्मिक सहिष्णुता बिथोल्ने छुट कसैलाई पनि नभएको बताए ।
उनले भने,’ यस घटनामा संलग्नहरुलाई संविधान र कानुन अनुसार कारबाही हुन्छ नै । त्यसका लागि प्रकृया अगाडि बढिसकेको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस सेन्टरका केन्द्रिय सदस्यद्वय निरज पिठाकोटे मगर र जगत राईका साथै नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताकोपनि उपस्थिती थियो ।