काठमाडौं : आम जनता पार्टी (आजपा) को केन्द्रीय कमिटी बैठक सोमबारदेखी काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा बस्दैछ । सो बैठकबाट महत्वपूर्ण निर्णय हुने नेताहरु बताउँछन् ।

दुई दिनसम्म चल्ने आजपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रभु साहले राजनीतिक एवं सांठनिक प्रतिवेदन पेश गर्ने र छलफल हुनेछ । यस्तै बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारको कामको समिक्षा, संगठन निर्माण, पार्टीद्धारा आयोजना हुने विशेष अभियान, जनवर्गीय संगठनको निर्माण एवं कामका साथै पार्टी एकीकरण लगायतका बिषयमा गम्भिर छलफल हुनेछ ।

आजपा महासचिव उपेन्द्र साहका अनुसार पछिल्लो राजनीतिक अवस्थाका साथै भ्रष्टाचार एवं मुलुकको आर्थिक अवस्थाको बारेमा समेत छलफल हुनेछ । अहिले मुलुकमा बढदै गएको भ्रष्टाचार तथा भ्रष्टाचारका काण्डका बारेमा गम्भिर समिक्षा गर्नुपर्ने र पार्टीको संगठन निर्माणका साथै सुशासन, समृद्धि लगायतका बिषयमा गम्भिर छलफल हुने महासचिव साहले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार र सत्तारुढ गठबन्धनबाट असन्तुष्ट आजपामा अध्यक्ष साहलाई सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखी लिएर सत्तारुढ गठबन्धनबाट बाहिरिन दबाब रहेको छ । केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सदस्यहरुले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने निर्णय बैठकबाट गर्नुपर्ने दबाब दिदै आइरहेका बेला बसिरहेको बैठकले गर्ने निर्णय महत्वपूर्ण रहेको बताईएको छ ।

‘आजपा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । सत्तारुढ गठबन्धनमा पनि छ । तर आजपासंग गरिने व्यवहार पछिल्लो समय ठिक देखिएको छैन् । यस्तो अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनुको बिकल्प छैन्’ एक केन्द्रीय पदाधिकारीले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टी निर्माण एवं विशेष अभियान लिएर जनतामा जाने बारेमा यो बैठकले निर्णय गर्छ ।’

यसैगरी केही पदाधिकारी तथा सदस्यहरु नेकपा (माओवादी केन्द्र)संग पार्टी एकीकरण गर्नुपर्ने पक्षमा देखिदै आएका छन् । सो कुरा बैठकमा समेत उठाउँने र पार्टी एकताका लागि अध्यक्ष साहलाई दबाब दिने बताइएको छ । आजपामा आबद्ध बहुसंख्यक नेताहरु माओवादीको जनयुद्धमा लागेका नेताहरु रहेका छन् । ति नेताहरुले माओवादी केन्द्रसंग एकीकरण गर्नुपर्नेमा उभिदै आएका छन् ।

आजपाले केही समय पहिले नै पार्टी एकताका लागि एक बार्ता समिति गठन गरेको थियो । आजपा महासचिव साह त्यसको संयोजक समेत हुन् । यस बीचमा बिभिन्न पार्टीसंग एकता गर्दै पार्टी एकीकरण भईसकेको र बिभिन्न पार्टीबाट नेताहरु आजपामा प्रवेश गरेको बताउँदै महासचिव साहले बिचार, सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने अन्य पार्टीसंग समेत पार्टी एकता गर्न सकिने बताए ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले पछिल्लो समयमा मुलुकमा देखिएको र बढदै गएको भ्रष्टाचारको बारेमा बैठकमा छलफल गर्दै त्यसका विरुद्धमा अभियान नै सञ्चालन गर्ने बारेमा निर्णय हुन सक्ने बताए । मुलुकको पछिल्लो राजनीतिक, आर्थिक अवस्थाको बारेमा समेत गम्भिर छलफल हुने र युवाहरुको विदेशिने क्रम बढदै गएकोमा पार्टीले मुलुुकमै रोजगार सृजना गरी कसरी समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने बारेमा समेत खुल्ला रुपमा छलफल हुने प्रवक्ता साहले बताए ।

पार्टीको केन्द्रीय कमिटी बैठक सोमबार र मंगलबार बस्दैछ । त्यसभन्दा अघि पार्टीको पदाधिकारी बैठक शनिबार काठमाडौंमा बस्दैछ । केन्द्रीय कमिटीको बैठकले केही नेताहरुको जिम्मेवारी हेरफेरका साथै नेताहरुले जिल्ला–जिल्लामा परिचालन गर्ने एजेण्डामा समेत छलफल हुनेछ । संगठन निर्माणमा जोड दिदै आएको आजपाले पार्टी र जनवर्गीय संगठनको निर्माणका लागि नेताहरुलाई परिचालन गर्न लागेको छ । यस्तै अगामी स्थानीय तह एवं प्रदेश तथा प्रतिनिधि सभाको हुने निर्वाचनलाई मिशनको रुपमा लिएको आजपाले नेताहरुलाई गाउँ गाउँ परिचालन गर्ने योजनामा समेत छलफल गर्दैछ ।

पछिल्लो समय आजपा अध्यक्ष साह प्रधानमन्त्री प्रचण्डसंग असन्तुष्ट रहेका छन् । गौर हत्याकाण्डका अपारधिलाई कारवाही गर्ने पीडितसंग सरकारले सहमती गरेकोमा सन्तुष्ट रहेका साह त्यस सहमतीलाई कार्यान्वयन गर्नबाट सरकार पछि हटेकोमा असन्तुष्ट रहेको उनी निकटका नेताहरु बताउँछन् ।

सत्तारुढ दलहरुको दबाबका कारण प्रचण्डले गौर हत्याकाण्डका अपारधिलाई संरक्षण गरेको र पीडितलाई न्याय दिन्छु भनि सहमती गरेर पनि पछि हटेकोमा अध्यक्ष साहले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

गत बिहिबार आजपा अध्यक्ष एवं सांसद साहले प्रतिनिधि सभा बैठकमा समेत सो असन्तुष्टि व्यक्त गरेका छन् । बैठकमा सांसद साहले गौर हत्याकाण्डको विषयमा पीडितहरुसँग भएको सहमति के भयो भन्दै सरकारसँग प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका साहले सरकार र पीडितबीच भएको सहमतिलाई गठबन्धन दलभित्र अर्कै व्याख्या गरेर केही दिनभित्रै भ्रम फैलाएको बताए ।

‘गौर हत्याकाण्डको विषयमा के भएको छ, जान्न चाहन्छन । यही साउन २३ गते सरकार र पीडितबीच ५ बुँदे सहमति भयो । उक्त घटनाको बारेमा पीडितले दिएका जाहेरीमाथि छानबिन गर्ने, मृतकहरुलाई सहीद घोषणा गर्नेलगायतका थिए । तर, केही दिन नबित्दै कथित गठबन्धनको नाममा भ्रमपूर्ण कुरा आएको छ । पीडित चिन्तित छ । सरकारले धारणा के हो स्पष्ट भन्नुपर्छ, म सरकारसँथ जवाफ माग गर्दछु’ साहले भने, ‘नेपालमा कानुनको शासन छ कि छैन ? कानुन लाग्छ कि लाग्दैन ? यदि कानून छ भने कानून सबैलाई लाग्छ भने घटनाको १७ वर्ष बितिसक्दा पनि किन न्याय भएन ? म प्रश्न गर्न चाहान्छु । २०६३ सालको चैत ७ मा भएको नरसंकारकारी गौर हत्याकाण्डमा २८ जनाको नरसंकार गरि विभत्सरुपमा हत्या भएको थियो र त्यसरी भएको विभत्स हत्याको १७ वर्ष पुराहुँदासमेत पीडितले न्याय नपाउने यो पनि तरिका हो ?’

साहले रौतहटका जनताले उक्त घटनाको बारेमा सत्यतथ्य छानविन भएर उक्त कलंकबाट मुक्त हुन चाहेको बताए । उनले पुनरावेदन अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा बनेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न समेत सरकारसंग माग गर्दै उक्त घटनामा पीडित परिवारले दिएको जाहेरी सार्वजनिक गर्न माग गरे ।

नेपाल प्रहरीले उक्त घटनालाई गम्भीररुपमा नलिएको आरोप उनले लगाए । साहले पछिल्लो समयमा नेपाल प्रहरीलाई विभिन्न बाहनामा बदनाम गराउने प्रवृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय