काठमाडौं : आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघले बुधबार एक कार्यक्रम गरेर मलेसिया जाने टोलीको बिदाइ गरेको हो । सिरिजअघि नेपाली टोलीले ५ अभ्यास खेल खेल्नेछ ।
छनोटअघि नेपालले घरेलु टोली मलेसिया, कुवेत र हङकङसँग टी-२० आई सिरिज खेल्नेछ । नेपालले भदौ ५ गते हङकङ ६ गते कुवेत र ८ गते मलेसियासँग खेल्ने तालिका छ ।
चार देशबीच शीर्ष २ मा रहन सके नेपालले भदौ ९ गते फाइनल खेल्नेछ । पुछारका अन्य दुई टोलीले सोही दिन तेस्रो र चौथो स्थानका लागि खेल्नेछन् । यो सिरिजपछि नेपाली टोलीले भदौ ११ गते थाइल्याण्डसँग अभ्यास खेल्नेछ । एसिया क्षेत्र छनोट भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुनेछ ।
समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन् । नेपालले पहिलो खेलमा भदौ १४ गते मलेसियासँग खेल्नेछ । १५ गते बहराइन, १७ गते भुटान, १८ गते कतार र २० गते यूएईसँग खेल्ने तालिका छ ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल खेल भदौ २२ गते हुनेछ । फाइनल खेल २३ गते हुनेछ । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ। एसिया क्षेत्र छनोटका लागि रुविना क्षत्रीको कप्तानीमा तिन नयाँ खेलाडीलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा भइसकेको छ ।