काठमाडौं : नेकपा एमोलका अध्यक्ष केपी शर्मा ओली र पूर्व उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । ओली र रावलबीच आज एमाले मुख्यालय च्यासलमा भेटवार्ता भएको हो ।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
चितवनको सौराहमा भएको एमालेको १०औं महाधिवेशनपछि एमालेबाट टाढिएका रावल पार्टीमा निष्कृय जस्तै रहेका छन् । एमालेले केही समय पहिले रावलसँग वार्ता गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा सदस्य रहेको समिति बनाएको थियो । पौडेल नेतृत्वको टोलीले पहिलो चरणमा छलफल गरेपनि ठोस सहमतिमा भने पुग्न सकेको छैन् ।