काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी र मन्त्रीसहितको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमितामा माओवादीका जुनसुकै व्यक्ति दोषी देखिए पनि कारबाही हुने बताएका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिए उनीहरूलाई पनि जेल हाल्ने बताएको सचिव डिलाराम आचार्यले बताए ।

‘प्रधानमन्त्रीले बैठकमा भ्रष्टाचार, अनियमिता र सुन प्रकरणमा माओवादीका नेताहरू दोषी देखिएमा जेल बस्न तयार हुनुहोला । भ्रष्टाचार र अनियमितामा कुनै सम्झौता हुँदैन । सरकारको नीति सबैलाई बराबर हो । दोषी देखिएका कसैलाई पनि छोडिने छैन । चाहे त्यो माओवादीको पदाधिकारी नै किन नहोस् भन्नुभयो,’ बैठकमा सहभागी आचार्यले भने ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका नेताहरूलाई पनि कारबाही गर्ने प्रतिबद्धता जनाएको आचार्यले बताए ।

यद्यपि कुनै नेता विशेषको नाममा भने छलफल नभएको आचार्यले जानकारी दिए । ‘बैठकमा कुनै नेता विशेषको नाममा छलफल नभए पनि दोषी देखिए माओवादीका पदाधिकारीलाई पनि छोड्नुहुन्न भन्ने छलफल भयो,’ आचार्यले भने, ‘महरा कमरेडको नाम उल्लेख भएन । दोषीलाई कारबाही गर्नेमा बैठक एक मत भएको छ ।’

केही समयदेखि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको नाम ९ किलो सुन प्रकरणमा जोडिएको छ । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग सचिव वर्षमान पुन र उनको परिवारका फोटाहरू सार्वजनिक भएका थिए ।

पुनले छानबिन हुनुपर्ने बताउँदै आएका छन् । साउन १७ देखि २१ सम्म चलेको माओवादीको केन्द्रीय कमिटी बैठकमा पनि पुनले सुन प्रकरणमा आफ्नो नाम जोडिएकाले छानबिन हुनुपर्ने माग राखेका थिए । तर, महराले यो विषयमा केही पनि बोलेका थिएनन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय