
काठमाडौं : रेडियो नेपालले आजदेखि ११औँ चरणको सङ्गीत प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । सिंहदरबारस्थित रेडियो नेपालमा गायन, हार्मोनियम, तबला, गितार, मादल, बाँसुरी, सारङ्गी गरी सात विधामा सङ्गीत प्रशिक्षण सुरु भएको हो ।
रेडियो नेपालमा आज आयोजित सङ्गीत प्रशिक्षण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष कृष्णबहादुर राउतले देशका कुना काप्चासम्म सूचना र सङ्गीत पुर्याउने एक मात्र माध्यम रेडियो नेपाल भएको बताउनुभयो । उहाँले देशको सत प्रतिशत भू–भागमा रेडियो नेपालको पहुँच विस्तार गर्ने सरकारको नीति रहेकाले यसबाट कला, साहित्य, भाषा, संस्कृति र सङ्गीतको विकासमा प्रभावकारी भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालको स्थापनादेखि सङ्गीतको लाइभ प्रसारण हुने गरेको स्मरण गर्नुहुँदै १२ सालदेखि नै गीतसङ्गीत रेकर्डिङ गरेर जनतामाझ पुर्याएको बताउनुभयो ।
उहाँले यो प्रशिक्षण ज्ञान र सिप हस्तान्तरणको एउटा माध्यम भएकाले रेडियो नेपाल आफैमा एउटा साङ्गीतिक पाठशाला भएको बताउनुभयो । रेडियो नेपालले सङ्गीतको संरक्षण र प्रवद्र्धन गर्न हरेक वर्ष बाल गीत, आधुनिक गीत र लोक गीत प्रतियोगिता गर्दै आइरहेको र स्रष्टा सम्मान कार्यक्रम पनि गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका सदस्य तिलकजंग बुढाथोकी र सङ्गीत शाखा प्रमुख मनराज नकर्मीले शुभकामना मन्तव्य दिनुभएको थियो ।
तीन महिनासम्म चल्ने सङ्गीत प्रशिक्षणमा गायनतर्फ ३६, हार्मोनियमतर्फ २६, तबलामा ९, गितारमा ७, मादलमा ५, बाँसुरीमा ५ र सारङ्गीमा २ गरी ९० जना प्रशिक्षार्थी सहभागी रहेका छन् ।