काठमाडौं : कोशी प्रदेश सरकार गठन असंवैधानिक भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आइतबारदेखि बहस हुँदैछ । गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आइतबार बहस शुरु हुन लागेको हो ।
निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ मागेकी थिइन् । त्यसै अनुरूप प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेशगरेसँगै सरकारको वैधानिकतामा बहस हुन लागेको हो ।
नेपाली कांग्रेसका उद्धव थापाले सभामुख बाबुराम गौतमसहितको हस्ताक्षर पेश गरेर आफ्नो नेतृत्वमा सरकार गठन गरेपछि एमाले सर्वोच्च अदालत पुगेको थियो । एमालेले दायर गरेको रिटमा निष्पक्ष रहनु पर्ने सभामुख गौतमले समेत हस्ताक्षर गरी बनेको सरकार असंवैधानिक भन्दै खारेजीको माग गरिएको छ ।