काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू धार्मिक–पर्यटकीय स्थल खप्तड जाँदैछन् । प्रधानमन्त्रीसहितको टोली प्रस्थान गरेको हो ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने हेतुले प्रधानमन्त्री प्रचण्डसहितको टोली खप्तड क्षेत्र जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री पहिला सुर्खेतमा रक्षामन्त्री पूर्णबहादुर खड्काको भाइबुहारी डा. सञ्जु खड्काको श्रद्धाञ्जलि सभामा सरिक हुनेछन् । त्यसपछि खप्तड जाने कार्यतालिका रहेको छ ।

‘खप्तड क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने हिसाबले त्यहाँ एउटा समिति पनि बनेको छ, त्यही सिलसिलामा जान लाग्नु भएको हो,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले भने, ‘उहाँसहित पूर्वप्रधानमन्त्रीहरू पनि खप्तड क्षेत्र जानु हुनेछ ।’

खप्तडमा आजदेखि तीन दिवसीय आध्यात्मिक सम्मेलन पनि हुँदैछ। प्रधानमन्त्रीले उद्घाटन गर्ने सम्मेलनमा योग गुरू रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण पनि सरिक हुने कार्यक्रम छ । सम्मेलनका अवसरमा  योग गुरू रामदेव र आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको बताइएको छ ।

तिमिल्सिनाका अनुसार कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कांग्रेस नेता रमेश लेखकलगायत नेताहरू पनि खप्तड जाँदैछन् । खप्तड क्षेत्र सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा परिचित छ ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्ला संगम स्थलकोरूपमा रहेका यस क्षेत्रमा खप्तड बाबाले तपस्या गरेका कारण पनि प्रशिद्ध छ । त्यहाँ खप्तड राष्ट्रिय निकुञ्ज पनि छ ।

निकुञ्जभित्र ५ सय ६७ थरिका वनस्पतीहरू र २ सय ६० भन्दा बढी प्रजातिका चराचुरुंगीहरू पाइने हुनाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा थप विकास गर्न सकिने लक्ष्य लिएको सुदूरपश्चिम सरकारले बताएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय