बाँके : स्थानीय तहमा जनप्रतिनिधिले स्रोत र साधन कसरी दुरुपयोग गर्छन् भन्ने एउटा उदाहरण बनेकि छन् बाँके डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो । बाँकेको डुडुवा गाँउपालिकाको सरकारी गाडी चरम रुपमा दुरुपयोग भएको भेटिएको छ ।
डुडुवा गाँउपालिकाकी उपाध्यक्ष साहिदा बानोले आफ्नो निजि कामकाजका लागि सरकारी गाडीको प्रयोग गर्दै आईरहेको शनिबार स्पष्ट भएको छ । उपाध्यक्ष बानो शनिबार दिउँसो निजि कामकाजका लागि सरकारी गाडीमा नेपालगञ्जको सवारी गरीरहेको बेलामा मिडियाकर्मीको क्यामेराले दृश्य कैद गरेको छ ।
सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालयको प्रयोजन बाहेक गाडी प्रयोग गर्न सम्बन्धित निकायबाट अनुमति आवश्यक हुन्छ । अर्थात जिल्ला प्रशासन कार्यालयबाट पास लिने प्रवधान छ । तर यो नियमको पालना भएको पाइदैन । उपाध्यक्ष बानोले कुनै पनि निकायबाट अनुमति नलिएरै सरकारी गाडी सार्वजनिक बिदाको दिन पनि कुदाइरहेकी छन ।
डुडुवा गाँउपालिकाको बा १ झ ४९९४ नम्बारको सेतो प्लेटको सरकारी गाडी नेपालगञ्ज स्थित नेपाल टेलिकमको कार्यालय अगाडी सडकको छेउमा पार्किङ्गमा रहेको दृश्य देखेपछि सञ्चारकर्मीको चासोको विषय बनेको थियो ।
उक्त गाडी उपाध्यक्ष बानोको अनुमतिमा उनलाई लिएर नेपालगञ्ज एक सभामा ल्याएको गाडी चालकले जानकारी दिए । कार्यालयको समय बाहेक अन्य समयमा सम्बन्धित निकायको अनुमति लिएर मात्र चलाउन पाउने प्रवधान बारे चालक आफु ज्ञात रहेको स्विकार गरे ।
यता उपाध्यक्ष बानो मिडियाकर्मीलाई प्रतिक्रिया दिदैँ जनताको कामको लागि गाडी प्रयोग गरेको बताइन । चालकले उपाध्यक्षलाई सभागोष्ठीको बहानामा जोगाउन खोजपनि उनी आफैले व्यक्तिगत कार्यका लागि सरकारी गाडी प्रयोग गरेको आफैले पोल खोलिन । उनले भनिन्, ‘शनिवार हो, जनताको कामको लागि युज गर्न मिल्छ ।’
पसिना पसिना भएकी उपाध्यक्ष बानोले आफ्नै पोल खोल्दै भनिन्, ‘म हस्पिटल आएको छु, आफ्नो दात पनि हेराएछु । एक जना हाम्रो मान्छे सिरियस हुनुभएको छ । अब हामी संग साधन छैन, टाढाबाट कसरी आउने ?’
शनिबार सरकारी गाडी चलाउन तपाई संग अनुमति रहेको जवाफ गरेपछि उपाध्यक्ष बानोले भनिन्, ‘अनुमति छैन ! आफ्नो एरियामा चलाउन मिल्छ । हामी बाहिर थोडै गएछु । बाहिर जिल्लामा गएपछि अनुमति लिनुपर्छ ।’ थप प्रश्न गर्न साथ उपाध्यक्ष बानो जवाफ नदिएरै त्यहाँ एक मिनेट पनि उभिनन् ।
यता आन्तरिक श्रोतका अनुसार उपाध्यक्ष बानोको विगत देखि नै यहि रवैया छ । उनी घरेलु वसारपसारका लागि पनि सरकारी गाडी कै प्रयोग गर्दै आइरहेको श्रोतको दावी छ । उक्त श्रोतका अनुसार उपाध्यक्ष बानो व्यक्तिगत कामका लागि नेपालगञ्ज स्थित एक डेन्टल क्लिनिकमा आएकी थिइन । उनी जनताको कामको लागि बहाना गरे पनि आफ्नै दातको समस्याका कारण सरकारी गाडीमा नेपालगञ्ज आएकी थिइन ।
यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । बाँकेमा प्राय कर्मचारी देखि कार्यालय प्रमुख सम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको पाइन्छ । बाँकेमा बिदाको दिन सरकारी गाडी प्रयोग गर्ने कार्यालय वा कर्मचारीलाई कारबाही गर्न ट्राफिक प्रहरीले भने वेवास्ता गरेको छ । चेकिङ्ग क्रममा समेत ट्राफिक प्रहरीले आमजनतालाई कडाई गरेपनि सरकारी गाडीलाई छाड्ने गरेको छ ।