काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर जाने खतरा पैदा भएको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको शनिबार ललितपुरमा आयोजित केन्द्रीय सभामा उनले गत निर्वाचनपछि समाजमा विचार, सिद्धान्त, मूल्य, आदर्शलाई भन्दा पनि भावना, आवेग, अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो रुपमा देखा परेको बताएका हुन्।
उनले भने, ‘विचारमा विचलन देखा परेको छ। अहिले कम्युनिष्ट आन्दोलन भित्र मात्रै पनि होइन, देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ। भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ। यस्तो बेलामा बौद्धिक पक्षबाट हस्तक्षेप बढ्नु जरुरी छ। वैचारिक बहस चलाउन जरुरी छ।’
समाजमा गलत गतिविधि बढ्दै जाँदा बौद्धिक वर्गले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ। उनले लामो संघर्ष र बलिदानबाट आएका पार्टी र त्यसका नेताप्रति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताए। उनले लेख, रचनामा भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिस क्षणिक उत्तेजना, क्षणिक आवेग र अराजक गतिविधिलाई अंगाल्ने परिपाटी विकसित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे।
प्रचण्डले भने, ‘ अहिले कतै न कतै लामो संघर्ष र बलिदानबाट आएका पार्टी, त्यसका नेताप्रति जति सजिलै र धेरै तल उत्रिएर गाली गलौच भइरहेको छ। यस खालका लेख, रचनातिर भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन्। त्यसले मान्छेलाई क्षणिक उत्तेजना, क्षणिक आवेगमा ल्याउने र त्यसले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ।’