तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएको छ ।
गत फागुन १७ गते प्रदेशसभाबाट नाम पारित हुँदा माओवादी केन्द्रले भूगोलको आधारमा कोशी प्रदेशको पक्षमा मतदान गरेको थियो । पहिचान पक्षधरले त्यसविरुद्ध आन्दोलन थालेपछि र पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा उभिएको हो ।शनिबार विज्ञप्ति जारी गर्दै, माओवादी केन्द्र प्रदेश कमिटीले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित सुरु भएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । चैत १२ गते कांग्रेस, एमाले, र राप्रपासँग मिलेर संयुक्त विज्ञप्ति जारी गर्दै माओवादीले प्रदेशसभाबाट पारित नामलाई शिरोधार्य गर्न अपिल गरेको थियो । ‘नामांकन सच्याउन हाल पहिचान पक्षधर विभिन्न संघ, संस्थाहरुले चलाइरहेको शान्तिपूर्ण आन्दोलनप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यवद्धता रहेको छ,’ पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङ र सचिव गणेश उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘आन्दोलनमाथि दमन गरेर होइन, सरकारको तर्फबाट यथाशीघ्र वार्ता मार्फत आन्दोलनरत पक्षसँग सम्वाद गर्न आग्रह गर्दछौं, साथै पहिचान देखिने गरी पुनः नामांकनबारे छलफल गर्न हाम्रो पार्टी तयार रहेको जानकारी गराउछौं ।’